जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको संघीय सरकारमा समाजवादी पार्टी नेपाल सामेल भएर दुई तिहाई संख्या पुर्याउन सघाएको छ। समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयं संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री छन्।
यादवकै समाजवादीपार्टी प्रदेश २ सरकारको नेतृत्वमा छ। संघीय सरकारमा नेकपा र समाजवादीबीच गतिलो सहकार्य देखिएपनि प्रदेशमा भने ठीक विपरित अवस्था छ। विभित्र कारणले प्रदेश सरकार र संघीय सरकारबीच बेलबेला जुहारी चलिरहेको हुन्छ। कहिले प्रदेश प्रहरी भर्ना त कहिले लोकसेवा आयोग गठन गर्ने विषयमा पटकपटक विवाद हुँदै आइरहेको छ।
झन् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश २ झर्दा यस्तो जुहारी थपतिव्र हुँदै आएको छ। यसखाले पछिल्लो घटनाक्रम पुनः जनकपुरमा देखिएको छ।
यसअघि गत वर्ष दशैं, दिपावली र छठको अवसर पारेर नेकपाले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा जनकपुर पुगेका बेला प्रचण्डले ‘ओभरटेक’ नगर्न चेतावनी दिएपछि प्रदेश सरकारसँग जुहारी चलेको थियो। प्रदेश सरकारले संघीय सरकारले कानुन नबनाउँदै प्रदेश प्रहरी ऐन ल्याउन खोजेको भन्दै प्रचण्डले यस्तो बताएका थिए।
सँगै बसेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले अधिकारविहीन बनाएर संघीयता मास्न खोजेको भन्दै प्रचण्डको प्रतिवाद गरेका थिए।
तर यसपटक नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ मा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै टिप्पणी गरेपछि प्रदेश सरकारसँग जुहारी चलेको हो। शहीद रामवृक्ष यादवको स्मृति दिवसमा सहभागी हुन सोमबार धनुषाको बरमझिया पुगेका प्रचण्डले प्रदेश २ मा सबैभन्दा बढी भ्रष्टाचार भइरहेको टिप्पणी गरेका थिए।
नेकपा अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेपछि प्रदेश सरकारका मन्त्रीहरु उनको प्रतिवाद गर्दै सरकारको बचाउमा उत्रेका छन्। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ भन्दा बढी भ्रष्टाचार काठमाडौंमा भैरहेको टिप्पणी गरेका छन्।
मंगलबार विपद् व्यवस्थापन समिति धनुषाले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दै कानुन मन्त्री यादवले भने, ‘प्रचण्डजीले भनेजस्तो प्रदेश २ मा भ्रष्टाचार छैन्। प्रदेश २ भन्दा बढी भ्रष्टाचार काठमाडौंमा छ, हेरे हुन्छ।’
प्रचण्डसमेत उपस्थित रहेको कार्यक्रममा कानुन मन्त्री यादवले सुन काण्डदेखि निर्मलाको हत्यारालाई पत्ता लगाउन नसक्नेले अरुलाई आरोप लगाउनु गलत रहेको बताए। ‘दुई तिहाइको शक्तिशाली सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन, सुनकाण्डका दोषी को हुन् भत्र सकेको छैन, अनि अरुलाई आरोप लगाउनु सरासर गलत हो,’ मन्त्री यादवले भने।
उनले संघीय सरकारको हस्क्षेपको कारण सुशासनको व्यवस्था खस्किएको आरोप लगाउँदै संघीय सरकारले गर्दा प्रहरी प्रशासनले प्रदेश सरकारलाई टेर्न नमानेको जिकिर गरे। भ्रष्टाचार अन्त्य गर्न सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
कानुन मन्त्री यादवपछि सम्बोधन गरेका नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रदेश २ मा मात्र भ्रष्टाचार भएको कुरा नभनेको दाबी गरे। जनताको अवस्था र देशको विषयमा बोल्दै गर्दा मुलुकभित्र सबैजसो स्थानमा समस्याहरु देखापरेको र प्रदेश २ मा पनि जनता खुशी छन् या छैनन् भनेर बुझ्नमात्र खोजेको प्रचण्डको भनाइ थियो। दैवीप्रकोप सम्बन्धी अन्तरक्रियामा अप्राशंगिक हुन आफू नचाहेको भन्दै प्रचण्डले जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा उपस्थित नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा आरोप प्रत्यारोपमा उत्रेर गलत टिकाटिप्पणी नगर्न आग्रह गरे। विपद् व्यवस्थापनको स्थायी समाधान गर्न प्रभावकारी रुपमा सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४