जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालको लापरबाहीले एक युवकको अकालमै ज्यान गएको छ। अस्पतालको महोत्तरीको पिपरा गाउँपालिकास्थित बनौलीका छवीकान्त झाका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको हो।
समान्य ज्वरो र पेट दुखेपछि परिवारले शनिबार कुन्दनलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए। तर अस्पतालको लापरबाहीले उनको मृत्यु भएको परिवारका सदस्यहरूले आरोप लगाएका छन्।
जनकपुरको डेफोडिल्स पब्लिक स्कुलमा कम्प्युटर विषय अध्यापन गराउँदै आएका कुन्दन ठीकठाकै थिए उनका भिनाजु आशुतोष झा भन्छन्, ‘पेट दुख्न थालेपछी हामीले उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरायौ। तर, चिकित्सकले समयमा चेकजाँच र उपचार नगरेपछि अकालमै उनको ज्यान गएको छ।’
आशुतोषका अनुसार आइतबार बिहान पौने पाँच बजे डा. आनन्दकुमार झाले बिरामीको अवस्था सिकिस्त भएको र आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै बिरामीलाई निजी अस्पतालमा लग्न भनेका थिए।
जनकपुर अञ्चल अस्पताल परिसरभित्रै रहेको आईसीयूमा भर्ना गर्न परिवारले आग्रह गरेपछि डा. झाले आर्ईसीयू खाली नरहेको भन्दै बाहिर लग्नुपर्ने जिद्दी गरे। डा. झाले अस्पतालको आईसीयू खाली नरहेको भनिरहे पनि त्यहाँ तीनवटा बेड भने खालिरहेको कुन्दनका आफन्तहरूको भनाइ छ।
अञ्चल अस्पतालको आइसीयूमा भर्ना नगर्ने चाल पाएपछि कुन्दनका आफन्तहरू एम्बुलेन्सको व्यवस्था गर्न तर्फ जुटे। तर, त्यसबेलासम्म कुन्दनको ज्यान गइसकेको थियो।
अस्पतालकै आईसीयू खाली हुँदासमेत डाक्टरले उपचार नगरेको र झुटो बोलेर गम्भीर अवस्थामा बाहिर रिफर गर्न खोज्दा कुन्दनले ज्यान गुमाउनु परेको भिनाजु आशुतोष बताउँछन्।
‘ल्याबमा पटकपटक दौडधुप गरेँ, तर चार घन्टापछि मात्र उनीहरूले रगत र पिसाबको रिपोर्ट दिए,’ आशु्तोषले भने, ‘डा. झाले रिपोर्ट हेरेपछि चिनीको अवस्था बढेकोले अवस्था गम्भीर भएको बताए। अस्पतालमै आईसीयू खाली छँदासमेत भर्ना गर्न मानेन। एम्बुलेन्सको व्यवस्था गरिरहेकै बेला बिरामीको ज्यान गयो।’
उपचारमा लापरबाही गर्ने चिकित्सक, ल्याबका कर्मचारीलाई कारबाही गर्न कुन्दनका आफन्तहरूले माग गरेका छन्।
उपचारमा संलग्न चिकित्सक डा. झाले सुरुमा बिरामीको अवस्था समान्य रहे पनि ल्याबको रिपोर्ट आउन ढिलो भएपछि बचाउन नसकिएको बताए। समान्य ज्वरो र पेट दुखेको भनेपछि रगत र पिसाबको परीक्षण गराउन आफूले भनेको डा. झाले बताए। चार घन्टा ढिलो रिपोर्ट आउँदा बिरामीलाई बचाउन सकिएन उनको भनाइ छ।
मेसुको गैरजिम्मेवार जवाफ
ल्याब र चिकित्सकको लापरबाहीले युवकको ज्यान गुमाए पनि अस्पतालका मेसु डा. नागेन्द्र यादव यसतर्फ गम्भीर देखिएका छैनन्। अस्पताल प्रमुख यादवले भने घटनाबारे अझै जानकारी लिन भ्याएका छैनन्। गम्भीर भएपछि मात्र बिरामीको ज्यान जाने गरेको यादवले गैरजिम्मेवार जवाफ दिएका छन्।
समान्य ज्वरोपछि भर्ना भएको कुन्दनको मृत्यु कसरी भयो भत्रे नेपाल समयको जिज्ञासामा मेसु यादवले भने, ‘हामी घटनाबारे बुझ्दै छौँ। छानबिनपछि सही कुरा बाहिर आउँछ।’ उपचारमा संलग्न चिकित्सकका साथै ल्याबका कर्मचारीहरूसँग घटनाबारे सोधपुछ गरिने बताउँदै उनले दोषी पाइए कारबाही हुने जिकिर गरे।
जनकपुर अञ्चल अस्पतालमा यसअघि पनि यस्ता कतिपय घटनाहरू भइसकेका छन्। दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अस्पताल प्रशासनले हालसम्म कसैलाई कारबाही गर्न सकेको छैन । अस्पतालको लापरबाहीले बिरामी भएको भन्दै पटकपटक प्रदर्शनसमेत हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४