काठमाडौं– एक वर्षअघि धारीलो हतियार प्रहारबाट हत्या गरिएका पूर्वराजदूत केशव झाको हत्या आरोपमा सानुकान्छा तामाङ पुनः पक्राउ परेका छन्।
अपराध महाशाखाको टोलीले तामाङलाइ शुक्रबार साँझ काभ्रेबाट पक्राउ गरेको हो। हत्या गरिएका केशवराज झाकी पत्नीले भान्छेको काम गर्ने सानुकान्छा तामाङविरुद्ध किटानी जाहेरी दिएपछि महाशाखाको टाेलीले तामाङलाई काभ्रेबाट पक्राउ गरेको हो।
झाको २०७५ भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट हत्या गरिएको थियो।
घटनास्थलबाट झाको घरमा काम गर्ने सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो।
महानगरीय अपराध महाशाखाले सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई घटनास्थलबाट पक्राउ गरी २४ दिन प्रहरी हिरासतमा राखेर अनुसनधान गरेको थियो। मृतकका परिवारबाट कुनै किटानी जाहेरी नपरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उक्त हत्याको अनुसन्धान गरिरहेको महाशाखाले थप प्रमाण संकलन गरी तामाङलाई पक्राउ गरेको जनाएको छ। नेपाल समयसँग कुरा गर्दै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने पक्राउ परेका तामाङमाथि पुन विस्तृत अध्ययन सुरु गरिएको बताए।
पक्राउ परेका सानुकान्छालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
काभ्रेबाट पक्राउ परेका तामाङलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
याे पनि पढ्नुहाेस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४