काठमाडौं : प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आगामी निर्वाचनसम्म प्रधानमन्त्री रहिरहने दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री लगलग कामिरहेका छन्, अब जाने भए भनेको मैले सुनेको थिएँ। पद नजाने कोही हुँदैन। राजा–महाराजाको पनि जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन। आगामी निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई भन्छु।”
प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुहार भने निराश देखिएको थियो। प्रधानमन्त्रीको पाँच वर्षे अवधिको पछिल्लो आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने सहमति पार्टी एकीकरणकै बेला भएको दाहालको दाबी रहँदै आएको छ।
आइतबार संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनले दाहाललाई चुनौती थपिएको छ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका रक्षाका लागि सरकार मैदानमा उत्रिने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि पनि प्रहार गरे। “सरकार विरुद्ध अनावश्यक हल्ला फैलाएका छन्। लोकतन्त्र विरोधीहरुले, जनतामा फ्रस्टेशन ल्याउनेहरुले विरोध गर्दै छन्,” प्रधानमन्त्री ओलीले भने, “सरकार अधिनायकवादतर्फ गएको कुरा नगर्नु नै बेस हुन्छ। यसलाई कसैले पत्याउँदैनन्। जनतामा निरासा पैदा गर्ने काम गर्नु हुँदैन।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४