चितवन - मृत पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि चितवनमा शनिबार प्रदर्शन गरिएको छ।
प्रदर्शनका सहभागीले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनीहरुले पक्राउ परेका रवि लामिछानेसहित अन्यविरुद्ध अनुसन्धान भैरहेको भन्दै निष्पक्ष छानविन गर्न दिन र अनुसन्धानलाई प्रभावित पार्ने गरी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन्। स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रर्दशनमा सयौंको संख्यामा सहभागी भएका युवाले कानुनी राज्यको सम्मान गर्न आग्रह गरेका छन्।
अनुसन्धानलाई प्रभावित पार्ने खालका कुनैपनि गतिविधि नगर्न आग्रह गर्दै सहभागीले 'निष्पक्ष छानविन गर्न देउ,अपराधलाई राजनीतिकरण नगर, पुडासैनीले न्याय पाउनैपर्छ' लगायतका नारा लगाएका थिए।
शुक्रबार रवि लामिछानेलाई अदालत लैजाने क्रममा प्रहरी र उनका समर्थकबीच भएको झडपमा १० सेल अश्रृग्यास प्रहार गरिएको थियो भने पाँच प्रहरी घाईते भएका थिए। जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गरी अनुसन्धान थाल्न आदेश दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४