भारत – भारत प्रशासित कश्मीरबाट विशेष राज्यको दर्जा हटाउने विषयपछि उत्पन्न हुनसक्ने असहज परिस्थितीको कारण देखाई उक्त क्षेत्रमा बन्द गरिएका फोन तथा इन्टरनेट सेवा आजदेखि सुचारु भएको छ। उक्त क्षेत्रमा 'टु जी' स्पिडको इन्टरनेट सेवा सञ्चालन गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
इन्टरनेट तथा फोन सेवा सुरुसँगै त्यहाँ लगाइएको प्रतिबन्धमा समेत केही खुकुलो गरिएको छ। जम्मू–कश्मीरमा अगस्ट ५ देखि टेलिफोन सेवा बन्द रहेको थियो। जम्मू–कश्मीरलाई दिइएको विशेष अधिकार (धारा ३७०) हटाउने भारतीय सरकारको निर्णय पछि उक्त क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवामा प्रतिबन्ध लगाउनुका साथै विभिन्न समयमा कर्फ्यूसमेत लगाउँदै आइएको थियो।
यस्तै त्यहाँको राज्य प्रशासनलेसमेत आगामी सोमबारदेखि प्रदेशका सम्पूर्ण सरकारी कार्यालय तथा स्कुल, कलेज खोल्न निर्देशन दिएको छ। मोदी सरकारको निर्णयसँगै उक्त क्षेत्रमा सञ्चारसेवामाथि प्रतिबन्ध लगाउनुका साथै शैक्षिक संस्थाहरुसमेत बन्द गराइएका थिए। विस्तारै उक्त क्षेत्रको अवस्था सामान्य बन्न थालेपछि त्यहाँ गरिएको कडिकडाउसमेत खुकुलो बन्न थालेको हो।
कश्मीर प्रशासनले त्यहाँको अवस्था सामान्य तथा शान्तिपूर्ण रहेको बताएको छ। सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ भने मानिसहरुको चहलपहल पनि बढ्न थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४