काठमाडौं - मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ। हाल देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार आज देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने छ। देशको पूर्वी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै आइतबार देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने छ। देशको पश्चिमी तथा पूर्वी भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ|
यस्तै सोमबारसमेत देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४