आइतबार, चैत १९, २०७९

वैदिक साहित्यमा नेपाली जनजीवन भर्ने व्यक्तित्व दीक्षित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- मदनमणि दीक्षित वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपंक्तिमा लिइने नाम हो। रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ। 

कृतिगत र समग्र योगदानको स्मरण गर्दै उनको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रुपमा लिइएको छ। पञ्चायतकालमा ‘समीक्षा’ पत्रिकाका माध्यमबाट उनले छरेको चेतना होस् वा ‘माधवी’ उपन्यासले खिचेको वैदिक साहित्य दर्शनको चित्र होस्, सबैमा दीक्षितको व्यक्तित्व र संघर्ष झल्कन्छ। 

‘माड्साब’ को त्यही योगदानलाई सम्झँदै मुलुकका शीर्ष नेता र स्रष्टाहरूले उहाँलाई उच्च सम्मान दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई ‘प्राच्य साहित्य दर्शनका ज्ञाता’ का रूपमा लिँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। लामो समयदेखि मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या भोगेका दीक्षितको ९७ वर्षका उमेरमा आज बिहान कमलपोखरीस्थित हिमाल अस्पतालमा निधन भएको थियो। 

गत साता उपचारका लागि ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएका उनलाई बुधबार कालिकास्थानस्थित निवासमा ल्याइएको थियो। साहित्य र पत्रकारिता जीवनका क्रममा उनीसँग राजा महेन्द्र र वीरेन्द्र, नेताहरू बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, विश्वबन्धु थापा, डा. तुल्सी गिरी आदिसँगका संवाद र उठबसलाई दीक्षितले अन्तर्वार्ता र स्मरणका माध्यमबाट समय–समयमा रोचक रूपमा सार्वजनिक पनि गर्दै आएका थिए। 

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका दीक्षितका ‘माधवी’, ‘द्रौपदी’, ‘अहिल्या’, ‘ग्यास च्याबरको मृत्यु’ जस्ता ४५ भन्दा बढी कृति प्रकाशित छन्। उनी पछिल्लो समयमा आफ्ना सहयोगीमार्फत लेखनीमा सक्रिय थिए। 

उनले ‘माधवी’ उपन्यासको आठौं संस्करणका लागि परिमार्जन पनि गरेका छन्। माधवीले २०३९ मा मदन पुरस्कार प्राप्त गरेको थियो। उनका ‘चरैवेति’ (निबन्ध २०४४), ‘त्यो युग’ (निबन्ध २०४७), ‘हाम्रा ती दिन’ (निबन्ध, २०२९), ‘म रुँदै बिर्सन्छु’ (संस्मरण, २०२७), ‘बर्लिन डायरीका पाना’ (यात्रावर्णन, सन् १९८४), ‘लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्’, ‘मेरी आमाको प्रश्नलाई आज जबाफ चाहिएको छ’, ‘कसले जित्यो कसले हार्‍योे’ (कथा २०२१), ‘दस लाख हिरोसिमातिर’, ‘जीवन महाअभियान’, ‘ऋग्वेद ः केही प्रमुख सूक्त (२०६५), ‘मेरी नीलिमा’ र ‘भूमिसूक्त’ आदि पुस्तक प्रकाशित छन्। 

२०५२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएपछि उनले ‘समीक्षा’ पत्रिका छोरा विनोदलाई हस्तान्तरण गरेका थिए। त्यसको केही समयपछि पत्रिकाले निरन्तरता पाउन सकेन। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले दीक्षितलाई नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्व लिँदै २००७ सालअघिको जहानियाँ राणाशासनविरोधी आन्दोलन तथा पञ्चायतविरोधी प्रजातान्त्रिक आन्दोलनमा निर्वाह गरेको  भूमिका सदा स्मरणीय हुने जनाएका छन्। 

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित सुरुदेखि नै अत्यन्तै अध्ययनशील र माक्र्सवादी विचारयुक्त व्यक्तिका रुपमा दीक्षितलाई सम्झछन्। प्रश्रित भन्छन्, ‘सोही विचारका आधारमा उनले प्राचीन साहित्य र इतिहासको व्याख्या गरे। इतिहास, संस्कृति र विज्ञान सबैलाई समेटेर लेख्न सक्ने पुरानो पुस्ताको एक हस्तीका रुपमा उनलाई लिनुपर्छ।’ 

समालोचक प्रा डा अभि सुवेदीले नेपालमा विचारप्रधान र वामपन्थी पत्रकारिता गर्ने अग्रणी व्यक्तिका रुपमा लिँदै कुनै पनि पार्टीमा प्रत्यक्ष संलग्नता नरहेकाले दीक्षितका विचारमा कहिले वामपन्थ तथा कहिलेकाहं पञ्चायत र राजतन्त्रका कतिपय कामबारे प्रशंसा गरेको पाइने बताए। 

वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले दीक्षितको निधनले नेपाली साहित्यमा वैचारिकताका पक्षमा हुने बहसको शृंखलामा एक प्रकारको रिक्तता महसुस हुने प्रतिक्रिया दिए। 

एकेडेमीमा शव राखिएन 

श्रद्धाञ्जलिका लागि दीक्षितको शव कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी भए पनि निवास कालिस्थानमै राखियो। उनका परिवारका केही सदस्य र शुभेच्छुकले प्रतिष्ठान परिसरमा शव राख्न पहल गरेका थिए तर दीक्षितले जीवित छँदा आफ्नो शव त्यहाँ नराख्नू भनेकाले कमलादीमा नराखिएको हो। 

प्रतिष्ठानले केही वर्षअघि कुनै पनि दिवंगत स्रष्टाको शव आफ्नो परिसरमा नराख्ने निर्णय गरेको थियो। प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले दीक्षित प्रतिष्ठानकै पूर्वउपकुलपति भएको र प्रधानमन्त्री ओलीबाटै शव सो परिसरमा राख्न निर्देशन दिए पनि परिवारको चाहनाबमोजिम नराखिएको बताए।

कांग्रेसद्वारा निधनमा दुःख प्रकट

नेपाली कांग्रे्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनले आफू र आफ्नो पार्टी स्तब्ध बनाएको बताएका छन्। सभापति देउवाले शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्वान्, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। 

००

राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन्। उनले शोकसन्देश जारी गरी यस दु:खद घडीमा दीक्षितको योगदानको स्मरणसहित दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी छन्। 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।