बिहीबार, साउन २८, २०८३

राष्ट्रपतिको भूमिका निष्पक्ष भएन : राणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालमा राष्ट्र प्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताएका छन्।

अध्यक्ष राणाले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निष्पक्ष हुन नसकेको दाबी गरे। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने, ‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्।’

उनले आफ्ना जिजु बाजेले दिएको दरबारले पनि नपुगेर अहिले शितल निवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए। 

उनले भने, ‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्न अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो।’ 

उनले निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राजसंस्था जस्तो पूरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि दाबी गरे।

राणाले भने, ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौँ। यसमा बहस पैरवी हुनुपर्छ।’ उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे। उनले भने, ‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ। हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो। कसैले पनि बोल्नलाई रोक्न सक्दैन। तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन। राजाले म फर्किन्छु भनेर हिँडेको छैन। उहाँले भाषण गरेको छैन। उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ?’ 

अध्यक्ष राणाले आफूहरु र राप्रपाबीच एकताको लागि वार्तालापको अवस्थामा भने पुगि नसकेको स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टीको उच्च कार्यसम्पादन समितिको बैठक बसेको छ, विचार मिल्ने दल, समूह र व्यक्तिहरुसँग मिलेर जाने निर्णय भएको छ। र, त्यहीअनुसार हामीले आह्वान गरेका छौं।’

उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारसँग काम गर्नको लागि सुवर्ण अवसर भएपनि यसले मौका खेर फालेको आरोप लगाए। उनले भने, ‘यो सरकारले जनताको आशालाई पूरै निराशामा परिणत गरेको छ।

सरकार अत्यन्तै भ्रष्ट भयो।’ सरकारले कुनै पनि उल्लेखनीय काम गर्न नसकेको पनि उनले आरोप लगाए। सरकार गठन भएको १८ महिना बितिसक्दापनि परीणाम भने शुन्य आएको उनले बताए।

मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको पनि उनले सुनाए। उनले भने, ‘हामीले व्यापार घाटा झेलेको वर्षौं भैसक्यो। व्यापार घाटाझैं अब त भुक्तानी घाटा पनि पुगेको छ। यो मामुली कुरा होइन। नेपालको व्यापार घाटा बजेट जत्रो छ। अहिले निर्यातको १४ गुणा बढि आयात हुन्छ। भुक्तानी घाटा ६८.२ अर्ब पुगेको छ। विदेशी मुद्रा संचितिबाट अब पाँच महिनामात्रै पुग्ने अवस्था छ। अब २ महिनामा झर्यो भने हामी पाकिस्तानको अवस्थामा पुग्छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।