काठमाडौं–झापाको कमल गाउँपालिका–१ मा एक युवकले बुवाको हत्या गरेका छन्। ३१ वर्षीय प्रकाश थापाको चिर्पट प्रहारबाट ७३ वर्षीय सुर्यबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी श्यामल सुब्बाले दिएको जानकारी अनुसार पैसाको विवादमा सुर्यबहादुरको हत्या भएको हो।
पैसाको विषयमा बाबु-छोरा बीच दिनहुँ झगडा हुने गरेको थियो। सुर्यबहादुरले बिहीबार मात्र बृद्ध भत्ता बुझेका थिए। बृद्धभत्ताबापत आएको पैसाले दुवैजना घरमा मदिरा सेवन गरिरहेको बेला झगडा सुरु भएको थियो।
झगडा बढेपछि बाबु-छोरा बीच हात हालाहाल भएको थियो। मदिराको नसामा रहेका छोरा प्रकाशले आफ्नै बाबुमाथि चिर्पट प्रहार गरे। चिर्पट प्रहारबाट सुर्यबहादुरको घटनास्थलमै मृत्यु भएको थियो।
शुक्रबार बिहान सुर्यबहादुरको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए। हत्या आरोपमा प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रकाशले बुवाको हत्या गरेको स्वीकारेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४