आइतबार, साउन १७, २०८३

निजी कलेजले दबाब दिँदैमा पुनः प्रवेश परीक्षा हुँदैन : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले निजी क्षेत्रले दबाब दिँदैमा चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः नलिइने स्पष्ट पारेको छ। आयोगले यसअघि लिएको परीक्षामा विद्यार्थी अनुत्तीर्ण भई रिक्त सिटमा पुनः परीक्षा सञ्चालन हुन नसक्ने जनाएको हो।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– चिकित्सा शिक्षा आयोगले निजी क्षेत्रले दबाब दिँदैमा चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः नलिइने स्पष्ट पारेको छ। आयोगले यसअघि लिएको परीक्षामा विद्यार्थी अनुत्तीर्ण भई रिक्त सिटमा पुनः परीक्षा सञ्चालन हुन नसक्ने जनाएको हो।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गरीले निजी शिक्षण संस्थाले पुनः परीक्षा सञ्चालन गर्न दबाब दिइरहे पनि अनुत्तीर्ण विद्यार्थीका लागि कुनै पनि हालतमा पुनः परीक्षा सञ्चालन नहुने बताए। 

उनले नेपाल समयसँगको कुराकानीमा भने, ‘क्याम्पसमा रहेको कोटाभन्दा विद्यार्थीसंख्या कम उत्तीर्ण भए पनि कलेजको सिट भर्नकै लागि भनेर अयोग्य विद्यार्थीलाई योग्य बनाउन सकिँदैन। उत्तीर्ण भएकाले विद्यार्थीले भर्ना भएर पढ्ने हो। अब कक्षा १२ को परीक्षापछि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुन्छ। त्यसकै लागि विद्यार्थीले तयारी गर्दा हुन्छ।’

नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने निजी शिक्षण संस्था सञ्चालकले भने चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यावहारिक भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजलाई बन्द गराउने रणनीति लिइएको आरोप लगाएका छन्। नतिजा पुनर्विचार गरी प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण भएकोमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई उत्तीर्ण गराउनुपर्ने माग उनीहरूको छ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्स्टिच्युसन एसोसिएसन (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा गत सोमबार सांकेतिक विरोधस्वरूप कलेजको चाबी बुझाएका थिए।

निजी कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरेको भन्दै कलेजको चाबी आयोगलाई बुझाएका छन्। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्स्टिच्युसन एसोसिएसन (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा गत सोमबार सांकेतिक विरोधस्वरूप कलेजको चाबी बुझाएका थिए। उनले कलेज नै बन्द गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी आयोगले नतिजा प्रकाशन गरेकाले यसलाई पुनर्विचार गर्नुपर्ने बताए। 

पोखरा विश्वविद्यालयअन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको संगठनका अध्यक्ष नवराज पाण्डेले प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यावहारिक नहुने बताए। उनले विद्यार्थीले पढ्न सुरु गरेको चार वर्षको अवधिमा पनि  उत्कृष्ट बनेर देखाउन सक्ने बताए।

निजी कलेज सञ्चालकहरुले आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा शैक्षिक सत्र २०७७/२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न विश्वविद्यालयले अपनाउने प्रवेश परीक्षाको विधिअनुसार न्यूनतम ३५ प्रतिशत उत्तीर्ण ल्याएका विद्यार्थीलाई मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्। 

आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा संकायअन्तर्गतका उत्तीर्ण विद्यार्थी सोही सकांयअन्तर्गतका अन्य विषयमा भर्ना हुने गरी कार्यविधिमा सच्याउनुपर्ने माग उनीहरूको छ। 

पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित मोडर्न टेक्निकल कलेजका प्रिन्सिपल गोविन्द अकेला पौडेलले आयोगले प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउनेलाई मात्र उत्तीर्ण गराएकाले अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको बताए। उनले स्नातकमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ। प्रवेश परीक्षामा पनि ३५ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई उत्तीर्ण गराएर स्नातक तहमा अध्ययन गर्ने अवसर दिनुपर्ने बताए। उनले भने, ‘आयोगले गरेको निर्णय अव्यावहारीक छ। विद्यार्थी अनुत्तीर्ण भएका छन्। निजी कलेज सञ्चालकले छात्रवृत्तितर्फका र यसबाहेक शुल्क तिरेर पढ्ने विद्यार्थीलाई पनि पढाउन सक्ने अवस्था छैन। हामीले आयोगलाई कलेजको चाबी बुझाएका छौं। आयोगले नतिजामा पुनर्विचार नगरेसम्म कलेज सञ्चालन गर्न सक्दैनौं।’

आयोगले प्रवेश परीक्षाको प्रश्नपत्र सेट गर्दा नै सीटीईभीटीको प्राविधिक धारतर्फबाट आउने विद्यार्थीलाई निषेध गर्न खोजिएको र यस नतिजाले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा अवरोध उत्पन्न गर्ने भएकाले नतिजा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।

आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए। ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। बीपीएचमा एक हजार ४२० कोटामा ५६५, बीएससी नर्सिङमा एक हजार एक सय कोटामा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए।

यस्तै फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५ र बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका थिए।

प्रकाशित: Aug 27, 2021| 15:03 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्