ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ।
बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए। घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा ६ जना बालबालिकाको डुबेर ज्यान गएको छ। उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ। बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो। उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ।
भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ। भेनेजुएला सरकारले अर्को चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो।
भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ। भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो। भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ।
रुसको नोभोरोसिएस्क नजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दा सो घटना भएको जनाइएको छ। घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ।
संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्यांकमा देखिएको छ। तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ। यस वर्षको पहिलो ६ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ।
अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ। सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ।
काबुलमा भएको आक्रमणले संयुक्त राष्ट्रसंघको अफ्गानिस्तानस्थित नियोगल अत्यन्तै चिन्तित भएको जनाएको छ। उसले विज्ञप्ती जारी गर्दै हिंस्रक घटनाहरुको तिब्र भर्त्सना गरेको छ।
तमाम आर्थिक, राजनितिक एवं सामाजिक संकटहरुका बाबजुद गाजा पट्टिका मुस्लिम धर्माबलम्बीहरुले इद अल-अधा अथवा बलिको पर्व मनाउने तयारी गरिरहेका छन्।
हेब्रोन नजिकै जोर्डन नदीको पश्चिम किनाराको दक्षिण तर्फ बेट फज्जर भन्ने स्थानमा इजरायली फौजले व्यापकरुपमा छापामारी गरेका छन्। एकजना इजरायली सेनाका जवानलाई कसैले धारिलो चक्कु प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएका कारण इजरायली फौजले यसो गरेको प्यालेस्टाइन श्रोतले जनाएको छ।
