ओखलढुङ्गा - जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।
सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए। किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ। यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो। प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए। चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो।
किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन्। महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन्। यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ।
डेढ महिना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४