काठमाडौं- विराटनगरका एक व्यापारीको हत्या योजनासहित भारतबाट हतियारसहित आएका दुई जना भाडाका हत्यारा (कन्ट्रयाक्ट किलर) सहित तीन जना विराटनगरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भाडाका हत्यारा भारत सीतामढी घर भएका १९ वर्षीय कुनाल कुमार, हत्या योजनाका नाइके मन्नु गुप्ता तथा सर्लाहीका हरिनारायण झालाई पक्राउ गरी मङ्गलबार मोरङ प्रहरीले सार्वजनिक गरेको हो।
कुनालसँगै हत्या योजनासहित भारतबाट आएका राकेश झा तथा राज कुमार रौनियार भने भाग्न सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीका अनुसार योजनाबद्ध रुपमा हत्या गर्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक कुनाल कुमारको साथबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजिन र ८ राउण्ड गोली बरामद भएको छ।
विराटनगरका एक व्यापारीसँग पैसा लेनदेनमा विवाद बढेपछि उनका साथी विराटनगर- ८ का मनु गुप्ताले आफ्नै साथीको हत्या गर्न भारतीय भाडाका हत्याराको प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
कुनाल विराटनगर- ९ स्थित मेट्रोसिटी होटलबाट पक्राउ परेपछि हत्या योजनाको पर्दाफास भएको हो। मनु कुमार गुप्ता र ती व्यापारीबीच लामो समयदेखि आर्थिक लेनदेनको विवाद बढ्दै गएको प्रहरीले जनाएको छ।
योजनाकार मनु गुप्ताले हत्या योजनामा सर्लाहीका हरिनारायण झा र भारत सीतामढी बस्ने राकेश झा, राजकुमार रौनियार समेतलाई परिचालन गरेको अनुसन्धानबाट खुलेको छ।
हत्या गर्ने उद्देश्यले कुनाल र उनका साथी हतियार सहित व्यापारीको घरमा पुगेका थिए।
उनीहरु घरमा पुग्दा व्यापारी नभेटेपछि त्यो दिनको हत्या योजना विफल भएको थियो। व्यापारीको हत्यापछि भारत भाग्ने योजनाअनुसार कुनाल र उनका साथी होटलबाट ‘चेक आउट’ भैसकेका थिए।
तर घरमा ती व्यापारी नभेटेपछि पुन अर्को होटल मेट्रोसिटी बसेका कुनाललाई प्रहरीले विषेश सुराकीको आधारमा पक्राउ गरेको हो।
एसपी विश्व अधिकारी भन्छन्, ‘हत्या योजना बनाइएका व्यापारी कामको शीलशीलामा बाहिर गएकोले बाँच्न सफल भएका थिए।'
मोरङ प्रहरीले हत्याका योजनाकार मनु गुप्ता कन्ट्रयाक्ट किलर कुनाल तथा हरि नारायण झालाई मङ्गलबार सार्वजनिक गरेको हो। पक्राउ परेका उनीहरुलाई हात हतियार तथा खरखजाना ऐन तथा संगठित अपराध ऐनअन्तर्गत मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४