१. संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनिओ गतेरेसले आउँदो सेप्टेम्बर महिनामा आँफैले आयोजना गर्न लागेको जलवायुसँग सम्बन्धित ‘क्लाइमेट एक्सन समिट’ नामक एउटा शिखर बैठकमा जलवायुबारे तत्काल एउटा ठोस कदम लिन सरोकारवालाहरुसंग छलफल गर्ने बताएका छन्।
पत्रकार भेटघाटका क्रममा महासचिव गतेरेसले उक्त सम्मेलनमा कुनै सुन्दर भाषण होइन एउटा मूर्त योजना लिएर आउन सबैमा अनुरोध गरेका छन्।
उनले आउँदो २०२० सम्म राष्ट्रिय स्तरमा निर्धारित योगदान बढाउँने र २०५० सम्म कार्बन तटष्थता सबैले तय गर्नुपर्ने कुरा आउँदो जलवायु सम्मेलनमा छलफल गरी निर्णयमा पुग्नुपर्ने बताए।

२. दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्री स्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी हुनुहुन्छ।
कम क्षमताका पछिल्ला बिस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ। राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम चुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ।

३. दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिँदै आएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयको शुक्रबार भत्र्सना गरेका छन्।
उनले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट पारे। मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भने, ‘टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले त्यसले विश्वकै आपूर्ति प्रणालीलाई कमजोर बनाउनेछ, र यसबाट विश्व अर्थव्यवस्थामा त्रासको वातावरण सिर्जना हुनेछ।’

४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्।
चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्।
राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका छन्। अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ।

५. जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ। यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो।
जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन्। विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

६. साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन्। लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ।
बिहीबार जारी शाही आदेशअनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्।

७. लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ। दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
लिबियाको राजधानी त्रिपोलीबाट १ सय २० किलोमिटर पश्चिममा रहेको जुवारा शहरबाट बुधबार ४७ जना र बिहीबार २८ जनाको उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

८. क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ। स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए।

९. दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ।
सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडि पुनः अल कायदाको आक्रमण भएको छ।
यस आक्रमणमा परी कम्तिमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो। मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ। यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए।

१०. स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन्। शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन्।
यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो। आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४