१. अफगानिस्तानको पश्चिमी क्षेत्रमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीमा चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
शु्रुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

२. अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मंगलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।
पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ ।
त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

३. जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खुद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ ।
अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ ।

४. मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघ संस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ । उनको अनुहारसहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चार माध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत थिए ।

५. एक वर्षदेखि जारी अमेरिका–चीन ‘व्यापार युद्ध’ को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।
अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।

६. उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष प्रकट गरेको उत्तर कोरियाले पछिल्ला केही महिनादेखि चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ ।

७. चीनले भर्खरै एउटा अध्यागमन सम्बन्धी जटिल निर्णय लिएको छ । उसले आफ्ना ४७ वटा सहरबाट एक्लाएक्लै ताईवान भ्रमण गर्ने पर्यटकहरुका लागि जारी गरिरहेको प्रवेशाज्ञा हालका लागि निलम्बित गरेको छ । यो निर्णय ताइवान र चीनबीच हालसालै विकसित राजनीतिक तनावका कारण लिन बाध्य भएको चीन सरकारले जनाएको छ ।

८. अगस्त १ तारिखका दिन पर्ने चिनियाँ जनमुक्ती सेना स्थापनाको ९२ औँ वर्ष गाँठको उपलक्ष्यमा राष्ट्रिय सुरक्षा मन्त्रालयले एउटा समारोहको आयोजना गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी, राज्य परिषद, केन्द्रीय सैन्य आयोगका लागि स्टेट काउन्सिलर तथा राष्ट्रिय सुरक्षा मन्त्री वेई फेङेले जनमुक्ती सेना, सशस्त्र प्रहरी बल, रिजर्व फोर्स, मिलिसिया, निजामति कर्मचारीहरुका सकल दर्जा, भूतपूर्व सैनिकहरु, सेनाका वीर एवं आदर्श पात्रहरुलाई सम्बोधन गरेका थिए ।

९. राष्ट्रसंघीय विकास कार्यक्रमका प्रशासक अचिम स्टेइनरले जोर्डनले सिरियाली शरणार्थीहरुलाई उचित शरण दिई मानवोचित कदर गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । जोर्डनको राजधानी अम्मानमा आयोजित एउटा भेटघाट कार्यक्रममा जोर्डनका विदेश मन्त्री आईमन सफादीसँग उक्त कुरा बताएका थिए ।

१०. लिबियाले त्रिपोली विमानस्थललाई सैन्य प्रायोजनमा ल्याएको संयुक्त राष्ट्र संघद्वारा तयार पारिएको एउटा रिपोर्टलाई अस्वीकार गरेको छ ।
राष्ट्रसंघकै सहारामा बनेको र टिकेको लिबियाई सरकारले यस्तो अभिव्यक्ति दिएको हो । लिबियाका लागि राष्ट्र संघीय दूत घसन सलामेले लिबियाई सरकारको उक्त अभिव्यक्ति दिएको बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४