बुधबार, साउन २७, २०८३

किन टुट्दैछन् सम्बन्धका डोरी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – सँगै बाच्ने र सँगै मर्ने बाचा कसम खाएर विवाह बन्धनमा बाँधिएका जोडीहरुको सम्बन्धमा छोटो समयमै दरार आउन थालेको छ। कैलाली जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दाहरु हेर्दा यस्तै अवस्थाको चित्रण हुन्छ। 

यहाँ वर्षेनी सम्बन्ध बिच्छेदका मुद्दाको संख्या बढ्दै गएको छ। पछिल्ला चार वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा दुई गुणाले बृद्धि भएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ।

अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा सम्बन्ध विच्छेदका एक सय ३१ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७५/७६ सम्म पुग्दा दुई गुणाले बढेर मुद्दाको संख्या दुई सय ८५ पुगेको छ। आर्थिक वर्ष २०७३/७४ मा सम्बन्ध बिच्छेदका एक सय ५१ मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७४/७५ मा एक सय ९३ मुद्दा दर्ता भएका थिए । वर्षेनी यसरी सम्बन्ध बिच्छेदका घटनामा बृद्धि हुनुले अवस्था भयावह बन्दै गएको देखिन्छ। अदालतमा दर्ता हुने मुद्दामा सवैभन्दा बढी सम्बन्ध विच्छेदकै रहेका छन्।

श्रीमान श्रीमती बीचको सम्बन्धमा फाटो आउनुमा कुनै एउटै कारण मात्र छैन । सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहेको मुद्दामा संलग्न कानुन व्यवसायी बताउँछन्। पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भइरहेको अधिवक्ता गम्भिरसिंह ऐरले बताए।

यसका साथै बालविवाहले पनि सम्बन्ध विच्छेदको अवस्था सम्म पुर्‍याउने गरेको छ। पछिल्लो समय सूचना प्रविधिमा सहज पहुँच, सामाजिक सञ्जालको दुरुपयोग जस्ता कारणले पनि सम्बन्ध विच्छेदको अवस्थामा पुर्‍याउने गरेको अदालतका श्रेस्तेदार भुवन गिरीले बताए। श्रीमान श्रीमती बीचमा सानो–सानो विषयमा पनि झगडा हुने र आवेगमा आएर सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको उनको बुझाइ छ। श्रीमान श्रीमती बीच विश्वासको वातावरण बन्न नसके यस्ता मुद्दाको संख्या वर्षेनी बढ्दै जाने उनको अनुमान छ। 

प्रेम बिवाह गर्ने जोडी चाँडो छुट्टिँदै

विवाह भनेको सँगै जीवन जीउने सम्झौता हो। प्रेम विवाह हुनु भनेको केटा र केटी एक अर्कालाई राम्रैसँग चिनेको छन् भन्ने बुझिन्छ। त्यसैले प्रेम विवाह गर्नेको जोडी सामान्यतया छुट्टिनु नपर्ने हो । तर, पछिल्लो समय ठिक उल्टो हुन थालेको छ। 

अदालतको तथ्यांक हेर्दा मागी विवाह गर्ने जोडी भन्दा प्रेम विवाह गर्ने जोडी छुट्टिने संख्या अत्यधिक छ। प्रेम विवाह गर्नेहरुमा विवाहपूर्व बाँडिएका झुटा आश्वासन विवाह पश्चात पुरा हुन नसक्दा सम्बन्ध बिच्छेद हुने गरेको छ। प्रेम गर्दा जातभात नहेर्ने र विवाह गरेपछि परिवारले स्विकार नगर्ने कारण पनि  अन्तरजातीय विवाह गर्ने जोडी बढी छुट्टिने गरेका अदालतका कर्मचारी बताउँछन्। 

सम्पत्ति हडप्नकै लागि सम्बन्ध बिच्छेद

सम्बन्ध बिच्छेदको दर बर्षेनी बढ्दो अवस्थामा छ । सम्बन्ध बिच्छेद गर्ने सबै महिला वास्तविक हिंसामा परेका मात्रै हैनन् सम्पत्ति हडप्नकै लागि मात्र पनि सम्बन्ध बिच्छेद गरिरहेका छन्। अदालतका अनुसार एउटै महिलाले तीन–चार पटकसम्म सम्बन्ध बिच्छेद गरेको पनि पाइएको छ। ‘विवाह गर्ने अनि केही समयपछि अदालत आएर अंश सहित सम्बन्ध बिच्छेद गर्नेहरु पनि बढेका छन्’ अदालतका एक कर्मचारीले भने, ‘धनगढीमा मात्रै पनि एउटै महिलाले छोटो अवधिमै तीन जनासम्म सम्बन्ध बिच्छेद गरेको तथ्यांक छ।’

यतिसम्म की बिहे गरेको चार दिनमै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा आएको एक कर्मचारीले सुनाए। आफूले पाएको अधिकारलाई केही महिलाहरुले दुरुपयोग गर्दै त्यसलाई सम्पत्ति हडप्ने माध्यम बनाएको ती कर्मचारीले बताए। 

पुरुष पनि अदालतमा

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले सम्बन्ध बिच्छेदका सम्बन्धमा महिलाको जस्तै पुरुषलाई पनि समान अधिकार दिएपछि कैलालीमा पुरुष पनि सम्बन्ध बिच्छेदका लागि सोझै अदालत पुग्न थालेका छन् । गत भदौ देखि असार मसान्त सम्म ८६ पुरुषले सम्बन्ध बिच्छेदका लागि मुद्दा दिएका छन् । जसमध्ये २६ मुद्दामा फैसलासमेत भैसकेको अदालतको तथ्यांकले देखाएको छ। 

यस अघि मुलुकी ऐनले महिलाले मात्र पनि सम्बन्ध बिच्छेद गर्न चाहेमा सिधै अदालत आउन सक्ने व्यवस्था गरेको थियो। भदौ १ गतेबाट लागु भएको मुलुकी देवानी (संहिता) ऐनले पुरुषले पनि चाहेको बेला सम्बन्ध बिच्छेदका लागि सोझै अदालतमा मुद्दा दिन सक्ने व्यवस्था गरेको छ। 

यिनै मुद्दाको आधारमा पनि महिलाबाट पुरुषसमेत पीडित बनेका छन् भन्ने कुरा पुष्टि हुने गरेको छ।  ‘पुरानो कानुनमा पुरुष जतिसुकै हिंसामा परेको भए पनि स्थानीय तह हुँदै एक बर्ष पछि मात्र सिफारिससहित सम्बन्ध बिच्छेदका लागि अदालत आउनुपर्ने झण्झटिलो व्यवस्था थियो’, श्रेस्तेदार गिरीले भने, ‘नयाँ ऐनले महिला पुरुष दुबैलाई समान व्यवस्था गरेपछि पुरुष पनि सोझै अदालत आउन थालेका हुन्।’ 

वास्तवमै हिंसामा परेका पुरुषका लागि भने नयाँ कानुनी व्यवस्थाले केही सहज बनाएको उनको बुझाई छ। नयाँ कानुनी व्यवस्थाले महिलाले चाहेमा जे पनि गर्न मिल्छ भन्ने सोचमा भने नियन्त्रण भएको विश्वास कानुन व्यवसायी ऐरको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।