वासिंटन- अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्व्यन हुने भएको छ । अमेरिकी न्याय मन्त्रालयले मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो ।
पहिलो चरणमा पाँच जनालाई मृत्युदण्ड दिइने भएको छ । जसमा बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दाका दोषी छन् । उनीहरुलाई आगामी डिसेम्बर र सन् २०२० को जनवरीमा मृत्युदण्ड दिने गरि मिति तय गरिएको छ ।
न्याय मन्त्रालयको यो घोषणाले राज्यद्वारा निर्देशित मृत्युदण्डको विरोधका रुपमा संघीय सरकारले जारी राखेको एउटा अघोषित स्थगनलाई हटाइदिएको छ ।
संघीय सरकारले सन् २००३ मा खाडी युद्धका बेला एक १९ वर्षीय सैनिक ट्रेसी जोय म्याकब्राइडको हत्या आरोपमा ५३ वर्षीय लुइस जोन्स जुनियरलाई मृत्युदण्ड दिएपछि अघोषित रुपमा स्थगन गरेको थियो ।
सन् १९७२ मा सर्वोच्च अदालतको एउटा आदेशले राज्य र संघ तहका सबै मृत्युदण्डलाई खारेज गरिदिएको थियो । त्यसबेला सर्वोच्चले मृत्युदण्डसम्बन्धी कानुनलाई पनि खारेज गरेको थियो ।
पछि सन् १९७६ मा सर्वोच्च अदालतको अर्को एउटा फैसलाले कतिपय राज्यमा मृत्युदण्डलाई पुनः खुला गरिदियो र सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरिदिएका थियो ।
मृत्युदण्ड सूचना केन्द्रले संकलन गरेको तथ्यांक अनुसार सन् १९८८ देखि २०१८ सम्म संघीय स्तरका मुद्दामध्ये ७८ जनालाई मृत्युदण्डको फैसला भए पनि हालसम्म ३ जनालाई मात्र दिइएको देखिन्छ । मृत्युदण्डको सूचीमा अझै ६२ जना मानिस छन् । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४