जनकपुरधाम – अविरल वर्षाका कारण आएको बाढीबाट पीडितहरुको अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश २ पुगेका छन्।
सभापति देउवा बुधबार बिहान बाराको सिमरा हुँदै रौतहट पुगेका छन्। यसका साथै उपसभापति विमलेन्द्र निधि मंगलबार धनुषामा बाढी प्रभावित क्षेत्रको अवस्था बुझेर रौतहट पुगेका हुन्।
सभापति देउवा, उपसभापति निधि, प्रदेश २ का जिल्ला कांग्रेसका सभापतिहरु बुधबार रौतहटको बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडा तथा सदरमुकाम गौर र बैरगनीयास्थित दशगजा क्षेत्रको स्थलगत निरीक्षण गरेर बाढीबाट भएको क्षतिबारे जानकारी लिएका थिए।
बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नरहेको भन्दै देउवाले राहत र उद्धार कार्यमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। देशहीतको लागि अहिले सबै एकजुट हुनुपर्ने अवस्थामा सरकार आफ्नै दम्भमा हिँडेको उनको आरोप थियो।
कांग्रेस सभापति देउवाको बिहीबार महोत्तरीको बाढी प्रभावित क्षेत्र पुग्ने कार्यक्रम रहेको बताइएको छ। बुधबार साँझ बर्दिवास बसेर बिहीबार उनी महोत्तरीको बाढी प्रभावित क्षेत्र पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले जानकारी दिए।
यसैगरी शुक्रबार धनुषामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर देउवाको सिरहा र सप्तरी पुग्ने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४