काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावितहरुका लागि राज्यले प्रभावकारी भूमिका खेल्न नसकेको जनाएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै सरकारलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन्।
विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनर्स्थापनाको काम गर्नुपर्ने भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।
नेता खाणद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘विगत केही दिन अगाडि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भूभागहरुमा आएको बाढी, पहिरो, जल डुवान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षतिका साथसाथै भौतिक क्षति भएको छ। क्षतिग्रस्त स्थलको रिर्पोटका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनर्स्थापनाका कार्य गर्न आवश्यक देखिएको छ।’
बाढी, पहिरो र डुवान क्षेत्रमा विभिन्न महामारी फैलिने सम्भावना रहेकोले त्यसलाई नियन्त्रण गर्न सरकार तिव्र रुपमा लाग्नु पर्ने भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४