काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले मन्दिरको अर्बौको जग्गा बेच्ने महन्तलाई निलम्बन गरेर छानबिन थालिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्वन गरेर छानविन सुरु गरेको समाचारमा उल्लेख छ ।
महन्तले धनुषामा ५ विघा र रुपन्देहीमा २ विघा जमिन विभिन्न मितिमा विक्रि गरेको भेटिएको थियो । जसको अहिले चलन चल्तीको मूल्य धनुषाको जग्गाको ३ अर्ब र रुपन्देहीको २३ करोड रहेको जनाइएको छ ।
यस्तै नागरिकले संसदीय समितिका सभापतिहरुलाई सद्दे गाडी थन्क्याएर नयाँ गाडी दिने तयारी भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराई सकिएको छ । दोस्रो लटमा ११ जना सभापतिलाई गाडी उपलब्ध गराउने तयारी भएको समाचारमा उल्लेख छ ।
समितिका सभापतिहरु अहिले चढेको गाडी फ्रेस र सद्दे अवस्था छ । तर, यी गाडीलाई ग्यारेजमा थन्क्याएर सभापतिहरुको मागबमोजिम नयाँ गाडी दिन लागिएको हो । संसद् सचिवालयले ६ करोड १६ लाख खर्चिएर हालसालै ११ वटा स्कोर्पियो किनेको थियो ।
आजको कान्तिपुरले भने सरकारले असार महिनामै साढे २ खर्ब खर्च गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
असारे विकाससँगै सरकारले आर्थिक वर्षको अन्त्यमा बजेटको २४ प्रतिशत अर्थात २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ सकिएको हो ।
विकासतर्फको कूल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत असारमै सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । संसदीय समितिले असारमा १० प्रतिशत भन्दा बढि खर्च नगर्न दिएको निर्देशन लत्याउदै असारे भेलले बगाउने गरि गरिएको विकासका कारण यति धेरै रकम स्वाहा भएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले खुम्चिदैँ खाडीको श्रम बजार शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । उसका अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष खाडी जाने नयाँ कामदार ३३ प्रतिशत, पुनः श्रमस्विकृतिबाट जाने ५.४१ र समग्रमा १६.९५ प्रतिशले कमि आएको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने मान्छे बेच्ने गिरोहका विषयमा विशेष स्टोरी गरेको छ भने नेकपाको भागबन्डा मिलेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४