काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम आज सकिने बताएका छन्। असार मसान्तसम्म एकताका बाँकी काम सम्पन्न गर्ने दुई अध्यक्षबीच सहमती भएको उनले बताए।
उनले यसका लागि केही दिन अघिदेखि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग निरन्तर छलफल भैरहेको बताए। ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलाई सकेसम्म आजै कार्यविभाजन जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुङ्ग्याउने बताए। उनले टुंगिएका विषयलाई सचिवालय र स्थायी समिति तथा केन्द्रीय समितिबाट अनुमोदन गराइने बताए।
प्रचण्डले केन्द्रीय समिति बैठक बसेर देशभर अभियानमा जाने बताए। पार्टी कमिटीहरुलाई र जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने सम्बन्धमा नेतृत्व समेत संलग्न भएर अभियान चलाउने उनले बताए।
उनले पार्टी एकताको काममा ढिलाई भएपनि आज साँझसम्ममा खुसीको खबर आउने बताए।
जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, आयोग तथा कमिटीहरुका मुख्य संरचना टुङ्गिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, 'मुख्य संरचना टुंग्याएका छौं अब खालि ’फिल इन द ब्ल्यांक’ भनेजस्तै खालि ठाउँ भर्न मात्रै बाँकी छ। त्यो कुनै जटिल काम होइन सकभर आजै टुङ्गिन्छ।'
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि उनले बताए।
अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४