काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको चर्चा चलेको छ। सरकारको तर्फबाट अनौपचारिक वार्ता थालिएको छ।
तर, सरकारले विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्ने कार्यलाई पनि जारी राखेको छ।
विप्लवका शिर्ष नेताहरुलाई पक्राउ नगरी निगरानी गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइएको छ। तर, कार्यकर्ताहरुलाई भने प्रहरीले पक्राउ गर्ने क्रम जारी राखेको छ। सोमबार मात्रै तनहुँबाट विप्लवका चार जना कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका नेकपाका कास्की जिल्ला सेक्रेटरी आक्रोश, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका परिवर्तनलाई प्रहरीले तेस्रोपटक पक्राउ गरेको छ।
असार ४ गतेदेखि राज्यद्रोह मुद्दामा तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई सोमबार अदालतले रिहा गर्न आदेश दिएको थियो।
उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राज्यद्रोहको मुद्दा दर्ता भएका कारण उनीहरुलाई पक्राउ गरी स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जनाएका छन्।
पोखरामा विद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका सेक्रेटरी आक्रोशसहित २० जनाको टोलीलाई कास्की प्रहरीले विभन्न मुद्दा चलाएको थियो। अन्यलाई सामान्य तारेखमा रिहा भएपनि उनीहरुमाथि विभिन्न जिल्लामा मुद्दा चलाइँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४