जनकपुरधाम- जनकपुर विमानस्थलमा आगामी साउन महिनादेखि रिफ्युलिङको व्यवस्था हुने भएको छ । यस क्षेत्रकै सबैभन्दा जेठो विमानस्थल रहेपनि रिफ्युलिङको व्यवस्था हुन सकेको थिएन् ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले १० साउनदेखि जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था हुन गइरहेको जानकारी दिएका छन् । व्यवस्थित रुपमा सञ्चालनका लागि संरचना तयार गर्न समय लाग्ने भएपनि तत्काल दुईवटा गाडी राखेर रिफ्युलिङको व्यवस्था हुन लागेको उनले बताएका छन् ।
‘तत्काल रिफ्युलिङ र भण्डार गर्न दुईवटा गाडीको व्यवस्था भइसकेको छ,’ मंगलबार जनकपुरमा नेपाल समयसँग कुरा गर्दै प्रवक्ता गोइतले भने,‘दुबै गाडी अमलेखगन्ज पुगिसकेको छ । जनकपुर आएलगत्तै रिफ्युलिङ कार्य सुरु हुनेछ ।’ तत्काल अस्थायी व्यवस्था गर्न लागिएपनि चाँडै स्थायी व्यवस्था गर्नतर्फ आफूहरु लागि परेको उनले बताए ।
जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था भइसकेपछि काठमाण्डौंबाट आउने जहाज एकतर्फको इन्धन बोकेर आउन सक्ने उनको भनाइ थियो । इन्धन भार घटेपछि जहाजले यात्रु संख्या थप्न सक्ने उनले बताए । यसैगरी आपतकालीन अवस्थमा समेत जहाजमा इन्धन भर्न समस्या नहुने उनको भनाइ थियो ।
प्रदेश २ मा रहेका तीनवटा विमानस्थलहरु रहेपनि हालसम्म कुनैपनि विमानस्थलमा रिफ्युलिङको व्यवस्था हुन सकेको छैन् । रिफ्युलिङको व्यवस्था नहुँदा ठुला कम्पनीका जहाजहरुले सेवा दिन नसकेको बताइएको छ ।
प्रदेश २ को जनकपुर, राजविराज र सिमरा गरी तीन ठाउँमा विमानस्थल रहेपनि रिफ्युलिङको व्यवस्था नहुँदा यात्रुलाई धेरै भाडा तिर्नुपर्ने अवस्था रहेको बुद्ध एयर जनपुरका प्रबन्धक विजयप्रसाद सिंह बताउँछन् । जनकपुर विमानस्थलमै रिफ्युलिङको व्यवस्था भइसकेपछि जहाजका साथै यात्रुहरुलाई समेत सहज हुने उनको भनाइ छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४