शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचित बनेका शेरबहादुर देउवाले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्यमा जुटेका बालुवाटार स्रोतले जानकारी दियो। 

triton college

देउवाले माधव नेपाल नेतृत्वको समूह (एमालेमा रहँदा) सरकारमा आउने सुनिश्चित नहुँदासम्म मन्त्रिपरिषद् विस्तार रोकेर राखेका थिए। सोही कारण देउवाले नेपाललाई दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएका थिए। केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत हस्ताक्षर भए दल विभाजन गर्न सक्ने गरी ल्याइएको अध्यादेशअनुसार नेपालको दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ। 

‘माधव नेपाललाई कुर्ने नीतिकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। अब उहाँको दल दर्ता भइसकेको छ,’ स्रोतले भन्यो, ‘अब संसद् सचिवालयमा उहाँ (नेपाल) को पार्टीको संसदीय दल गठनका लागि निवेदन दिने र दल गठनको प्रक्रिया अघि बढ्छ। ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।’ 

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलसँग परामर्श गर्ने तयारी गरेका देउवा अब ढिलाइ गर्न नहुने पक्षमा रहेको उनको सचिवालयले जनाएको छ। ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भयो नै, अब अल्झाएर राख्नु हुँदैन। प्रधानमन्त्रीज्यू चाँडो गर्नुप¥यो भन्नेमा हुनुहुन्छ। त्यसैले ढिलाइ हुँदैन,’ सचिवालयका एक अधिकारीले भने। 

अहिले देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय छ। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री छन्। नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन् भने कांग्रेसका उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। 

corrent noodles
Metro Mart

कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी?  

प्रधानमन्त्री देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै कांग्रेसमा मन्त्रीका अकांक्षीले लबिङ थालेका थिए। तर, देउवाले मन्त्रिपरिषद् विस्तार  गरेनन्। कांग्रेसमा मन्त्रीका आकांक्षीको लर्को छ। देउवाले कांग्रेसका लागि सात मन्त्रालय छुट्ट्याएको उनी निकट स्रोत बताउँछ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने बताइएको छ।

यस्तो अवस्थामा देउवा क्याबिनेटमा कांग्रेसबाट को–को मन्त्री बन्दैछन्? चासोको विषय बनेको छ। कांग्रेसको संस्थापन इतर समूहले भने उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको खोजिरहेको छ। देउवाले पहिलो चरणमा आफ्नो समूहबाट २ मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार मन्त्रालय मागेको छ भने नेता कृष्णप्रसाद सिटौलालाई एक मन्त्रालय दिनैपर्ने बाध्यात्मक अवस्थामा देउवा छन्। 

संस्थापन इतर समूहले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेतृ सुजाता कोइरालामध्ये कुनै एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको छ। 

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने सम्भावना धेरै रहेको स्रोतको दाबी छ। उनीसँगै संस्थापन समूहबाट डा. नारायण खड्का, डिला संग्रौला, देवेन्द्रराज कँडेल, भरत शाह लगायत आकांक्षी छन्। 

संस्थापन इतर समूहले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेतृ सुजाता कोइरालामध्ये कुनै एक जनाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको छ। यो समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू, विजय यादव, तेजुलाल चौधरी लगायत पनि मन्त्रीका आकांक्षी छन्। 

महामन्त्री कोइराला सरकारमा नगएको अवस्थामा रिजालको मन्त्री बन्ने सम्भावना धेरै रहेको स्रोत बताउँछ। वरिष्ठ नेता पौडेलको पहिलो रोजाइमा भने बडू छन्। सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने सम्भावना धेरै छ। यद्यपि यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानसमेत मन्त्रीका आकांक्षी हुन्। 

माओवादीमा आकांक्षीको भीड 

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ। नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतका स्थायी समिति सदस्यले मन्त्री बन्ने इच्छा देखाएका छन्। 

यस्तै मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मधेसी कोटाबाट मन्त्री बन्न चाहेका छन्। जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ पनि आकांक्षी छन्। यस्तै सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजसमेत मन्त्रीको आकांक्षीमा  छन्। 

जसपा र समाजवादीबाट को–को? 

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम मन्त्रीका लागि चर्चामा छ। यस्तै महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको कित्तामा आइपुगेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी लगायतका सांसदले समेत आकांक्षा राखेका छन्। उनीहरुलाई समेत समेटेर मन्त्री छान्नुपर्ने अवस्थामा जसपा छ। 

एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ लगायतको नाम मन्त्रीका लागि चर्चामा छ। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको (बुधबार निर्वाचन आयोगमा दर्ता भएको) लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे टुंगो लागेको छैन।

प्रकाशित: Aug 26, 2021| 17:38 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...