काठमाडौं- लगातार परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा २६ महिला र ४१ पुरूष गरेर ६७ जनाको बाढीपहिरोमा परि मृत्यु भएको हो । मृतक ६७ मध्ये ४८ जनाको सनाखत भएको छ ।
यस्तै अहिलेसम्म ३० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीपहिरो र डुबानमा परेर ४३ जना घाइते भएका छन् । जसमा २० महिला र २३ पुरुष छन् ।
बाढी र पहिरोबाट अहिलेसम्म सुरक्षाकर्मीको टोलीले एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी मध्य तराईको जनजीवन अत्याधिक प्रभावित भएको छ ।
वर्षाको क्रम अझै जारी रहेकाले बाढी र डुबानको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । डुबान प्रभावित क्षेत्रमा राहत वितरण गर्न समेत सुरु गरिएको छ ।
बाढी पहिरोबाट कहाँ कतिको मानवीय क्षती ? हेर्नुहोस विवरण
