काठमाडौं- भोजपुर जिल्लाको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच बुधबार बिहान दोहोरो झडप हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एकजना प्रहरी र अर्का विप्लवका कार्यकर्ता रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
भोजपुर बजारको हटियालाइनको पानधारे होटलअगाडि ड्युटीमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ता नीरकुमार कुमार राईले आक्रमण गरेपछि प्रहरी जवान सञ्जीव राईले पनि प्रतिकार गरेका थिए ।
उनीहरू दुवैजनालाई गोली लागेको थियो । गोली लागेर घाइते भएका दुवै जनाको भोजपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खतिवडाले बताए ।
विप्लव कार्यकर्ता राईको साथबाट एक पेस्तोल र ६ राउन्ड गोली बरामद भएको भोजपुुर प्रहरीले जनाएको छ। राई विप्लव समुहका ओखलढुङ्गा पूर्व इन्चार्ज रहेको बताइएको छ ।
सरकारले गत फागुनमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएपछि विप्लव समूह झन् आक्रामक बन्दै आएको छ ।
यस क्रममा प्रहरीसँगको भिडन्तमा राईसहित विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेल र भोजपुरमै विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ।
यसैगरी राजधानीमा आफैंले बम विस्फोट गराउने तयारी गर्दा वैशाखमा विप्वलका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४