धनगढी- अछाममा एक युवकले चिर्पट प्रहार गरि आफ्नो ठूलो बुबा र ससुराको हत्या गरेका छन् ।
जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीको ढुंगानी गाउँका २७ वर्षीय प्रेम कुमार साउदले ठूलो बुबा र ससुराको मंगलबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रेमले राति करिव १ बजेको समयमा ठूलो बुबा ७२ वर्षीय देउसिंह साउद र ५५ वर्षीय ससुरा बिरभान साउदको हत्या गरेको पत्रकारसमेत रहेका स्थानीय होम साउदले जानकारी दिए ।
राति पाहुना आएका ससुरा र ठुलो बुबासंगै सुतेको बेला एक्कासी उठेर चिर्पट प्रहार गरेको प्रेमकी पत्नि धौलीले जानकारी दिईन् । ठुलो बुबालाई प्रहार गरेपछि बचाउन खोज्दा ससुराकोसमेत टाउकोमा प्रहार गरेको उनले जानकारी दिईन् ।
बुबालाई बचाउन खोज्दा आफुलाई पनि पिठ्यूमा दुई पटक प्रहार गरेको र भागेर ज्यान जोगाएको उनले सुनाईन् । घरमा ठुलो बुबा र ससुराको हत्या गरेपछि प्रेम फरार भएका थिए । उनलाई फरार सोही नगरपालिकाको वडा नम्बर २ को मिस्त्रुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्नुको कारण नखुलेको र प्रेम लठेब्रो रहेको स्थानीले बताएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीको टोली घट्नास्थल पुगिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४