काठमाडौं - असार ३१ गते मङ्गलबार शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणले राति १ बजेर ४६ मिनेटदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। सवा ३ बजे ग्रहणको मध्यकाल हुनेछ। पौने ५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए।
उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।
कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, वृद्ध र बिरामी बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४