काठमाडौं - नेपाली सेनाले आफ्नै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्नका लागि प्रकिया थालेको छ। प्रतिरक्षा विश्वविद्यालय स्थापनाको कामलाई समन्वय गर्नका लागि जंगी अड्डाभित्र विश्वविद्यालय सम्पर्क कार्यालय स्थापना गरिएको छ।
विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीति तथा रणनीति निर्माण र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नेपाल समयसँग बताए। पाण्डेका अनुसार यो कार्यलयले आफ्नो काम थालिसकेको छ।
प्रस्तावित विश्वविद्यालयमा स्वदेशभित्रै प्रतिरक्षा विषय उच्चस्तरको तालिम र अध्ययन गर्न पाइने व्यवस्था छ। सेनामा एनडिसी (नेशनल डिफेन्स कलेज) कोर्स नेतृत्वमा पुग्नका लागि महत्वपूर्ण खुड्किला मानिन्छ। सेनामा सहाकरथी भइसकेपछि करिब एक वर्षको एनडिसी कोर्स गरेपछि मात्र उपरथी हुन पाइने व्यवस्था छ। हालसम्म नेपाली सेनाको सहाकरथीहरु सिमित कोटामा प्रतिस्पर्धा गर्दै एनडिसी कोर्स गर्नका लागि विदेश जानुपर्ने वाध्यता थियो। स्वदेशमा यो अवसर नहुँदा थुप्रै सहायकरथीहरु एनडिसी कोटाको अभावका कारण अवकाश लिनुपर्ने अवस्था थियो।
सैनिक प्रवक्ता पाण्डेले सेनाको उच्च तहमा करिअर विकासको अवसरलाई समेत यो विश्वविद्यालयले सहज बनाउने बताए। उनले भने, 'विश्वविद्यालय स्थापना भइसकेपछि विदेशी कोटाकै मुख ताक्नुपर्ने अवस्था अन्त्य हुन्छ।'
अहिलेसम्म छिमेकलगायत अन्य राष्ट्रबाट वर्षेनी दर्जन कोटा आउने गरेका छन्। भारतबाट १, पाकिस्तानबाट २, चीनबाट ४, बंगलादेशबाट १, अमेरिकाबाट २ र बेलायतबाट १ कोटा उपलब्ध हुने गरेको छ। 'तर हामी कहाँ माग यो भन्दा बढी हुन्छ। सबैले चाहेर पनि एनडिसी कोर्स गर्न नपाउने अहिलेसम्मको अवस्था छ,प्रवक्ता पाण्डेले भने।
विश्वविद्यालय स्थापना कार्य अघि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित सम्पर्क कार्यालय स्थापना गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो।
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना विषय समावेश गरेको छ।यसका लागि बजेट समेत बिनियोजन भइसकेको छ।राष्ट्रिय सुरक्षा र प्रतिरक्षासम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माणसहित सहज कार्यान्वयन सुनिश्चित गर्न आवश्यक दक्ष जनशक्ति तयार गरिने प्रवक्ता पाण्डेले बताए।
प्रवक्ता पाण्डेका अनुसार विश्वका विभिन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी आफ्नै विशिष्ट परिवेश र राष्ट्रिय हित अनुकूल र आफ्नै रणनीतिक संस्कार बमोजिम अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय, तथा राष्ट्रिय युद्ध महाविश्वविद्यालय जस्ता उच्च प्राज्ञिक संस्थाहरु स्थापना गर्ने गरेका छन्। अमेरिका, चीन, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश एवं अफ्रिकी मुलुकहरुमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्थाहरु स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयहरुमा उच्च शिक्षा प्रदान हुदै आईरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४