काठमाडौं – आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दवाव दिएको छ।
नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो।
नेविसंघले सरकारले भारतको दबाबमा सो निर्णय लिएको दाबी गर्दै व्यंग्य स्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यकता परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गरे। सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषादी परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उनले आपत्ति जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४