काठमाडौं- आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषद्को बैठकमा विषादी परिक्षण रोक्ने विषयमा चर्का चर्की भएको छ ।
करिब ४ घण्टा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विषादी परिक्षण रोक्ने विषयले बद्नाम गरेको भन्दै मन्त्रीहरुसँग आक्रोशित बनेको स्रोतको दाबी छ ।
ओली पक्ष मन्त्रीहरुसमेत पूर्व माओवादी पक्षमन्त्री तर्फ आक्रामक रुपमा प्रस्तुत भएको स्रोतले जनाएको छ । बैठकमा कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्ति मन्त्री मातृका यादवबीच विशेष गरेर चर्काचर्की भएको थियो ।
बैठकले गरेको निर्णय बारे भने कुनै कुरा सार्वजनिक गरिएको छैन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विषादी परीक्षणको विषयमा छलफल भएको र तयारी पुगेपछि पुन परिक्षण गर्ने गरि स्थगित गरिएको जानकारी दिए ।
उनले भारतको दबाबमा नभइ पूर्वाधार नपुगेकाले विषादीको परिक्षण रोकिएको प्रष्टिकरण दिए । बैठकपछि उनले भने– 'जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर छ । थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने छ ।'
सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरु हुनसक्छन्, पत्रहरु आदानप्रदान हुनसक्ने भन्दै यसलाई ठूलो रुपमा लिन नहुने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
उनले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिए । मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उनको जवाफ थियो– “यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४