काठमाडौं- नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ओपरन बलिङमा आएका देब्रे हाते स्पिनर सागर ढकालले ब्याटिङ गरिरहेको हङकङलाई राम्रो सुरुवात गर्न दिएनन् । पहिलो ओभरमा नै हङकङलाई दबाबमा राख्दै सागर एक्लैले ५ विकेट लिए ।
उनले १० ओभर बलिङ गर्दा ५ मेडियन राख्दै मात्र १८ रन खर्चेर ५ विकेट लिएका हुन् । यस क्रममा सागरले हङकङका माथिल्लो क्रमका नस्रुल्ला राना, कल्हान मार्क चल्लु र राहुल शर्मालाई पेभिलिएन फर्काए । त्यसपछि मध्य क्रमका ब्याट्सम्यान आरुश भागवत र मेहरनलाई पेभिलिएन फर्काए ।
पहिलो ओभरको चौथो बलमा हङकङका नस्रुल्ला रानालाई शुन्य रनमा पेभिलिएन फर्काउँदा तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई पनि शुन्य रनमा हरी बहादुर चौहानको हातबाट क्याचआउट गराए।

त्यसपछि माथिल्लो क्रमका ब्याट्सम्यान कल्हान मार्क चल्लुलाई १९ रनमा खेली रहँदा एलबी डब्लु आउट गर्दै मैदान बाहिर पठाए । चल्लुलाई १५ औं ओभरको पाँचौ बलमा आउट गरेका थिए ।
सोहि ओभरको अन्तिम बलमा चौथो विकेटको रुपमा सागरले आरुश भगवतलाई शुन्य रनमा बोल्ड आउट गरे । त्यस्तै २३ औं ओभरको तेस्रो बलमा हङकङको मात्र ४७ रन पुग्दा सागर एक्लैले पाँचौ विकेटको रुपमा मेहरनलाई पेभिलियन फर्काए ।
यस प्रतियोगितामा सागरले सर्वाधिक १५ विकेट लिएका छन्। आफ्नो पहिलो खेलमा चिनविरुद्ध ६ विकेट लिएका सागरले दोश्रो खेलमा सिंगापुरविरुद्ध १ विकेट लिएका थिए ।
त्यस्तै सेमिफाइनल खेलमा मलेसियाविरुद्ध सागरले ३ विकेट लिएका थिए । उनी यस प्रतियोगितामा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सिंगापुरका भिनित चित्तेश मेहताले ११ विकेट लिदै दोस्रो स्थानमा छन् ।