महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ?
डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ। किनभने उनी विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत छिन्।
शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन्।
एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उनले बताइन्। शर्मा भन्छिन्– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ। उनका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ।
सन् १९६० मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको सो संस्था अमेरिकी एएस ९१०० गुणस्तर प्राप्त कम्पनी हो। क्यालिफोर्नियाको मालिबुमा अवस्थित सो ल्यावको स्वामित्व हाल जीएमसी र बोइङ कम्पनीले लिएका छन्। व्यावसायिक र गैरव्यावसायिक दुवै प्रकृतिका सामग्री उत्पादन गर्ने एचआरएलले विशिष्टीकृत परियोजनालाई मात्रै ग्रहण गर्दैआएको छ।
सन् २०१३ मा सिनियर प्रोसेस डेभलपमेन्ट इन्जिनियरका रुपमा सो कम्पनीमा आवद्ध शर्मा सन् २०१५ यता पूर्णकालीन इन्जिनियरिङ स्पेसलिस्टका रुपमा कार्यरत छिन्। अमेरिकी रक्षा विभाग (डार्पा), विश्वमै चिनिएको हवाई उत्पादक कम्पनी (बोइङ) जस्ता संस्था र कम्पनीले प्रयोग गर्ने उपकरण उत्पादन गर्ने निकाय हो। नेपाल समाचार पत्रमा खबर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४