बुधबार, साउन २७, २०८३

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ। 

पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ। पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन। टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो।

खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ। खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ। बसपार्कमा बनेको पानीको पोखरीले बस चढ्न जानसमेत मुस्किल हुने गरेको यात्रु रामसिंह विश्वकर्माले गुनासो गरे।

बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडकमा आई राष्ट्रियसभा गृहअघिसम्म धुलो उड्ने गरेको छ। यो मार्गमा हिँड्ने याात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अवस्था छ। मास्क नबोक्ने यात्रुले रुमालले मुख नाक छोपेर हिँडेको देखिन्छ। महिला यात्रुले भने सलले नाक मुख छोपेर हिड्ने गरेका छन्। 

राजधानीको महत्वपूर्ण स्थानमा रहेको बसपार्कसमेत सरोकार भएका निकायले व्यवस्थित गर्न नसक्दा राष्ट्रिय अन्तरराष्ट्रियरुपमा राम्रो सन्देश नजाने यात्रु रमिला महर्जनको भनाइ छ। बसपार्क रहेको महानगरपालिका– २८ कार्यालयले भने पुरानो बसपार्क व्यवस्थित गर्ने काम केन्द्रीयकरण भएकाले समस्या आइरहेको जनाएको छ।

वडाध्यक्ष भाइराम खड्गी पुरानो बसपार्कसम्बन्धी जन गुनासो धेरै आएकाले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउँछन्।
‘पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजान्छ, अव्यवस्थित संरचनालाई व्यवस्थित पनि गर्दैन गुनासो जति वडा कार्यालयमा आउँछ, असार २९ गते बस्ने नगरसभा बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउँछु।’ उनले भने।

पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ। यहाँ ढलसमेत व्यवस्थित नगरिएकाले कहिले त ढलको कुलो नै बग्ने गरेको छ। बसपार्क अव्यवस्थित हुँदा दृष्टिविहीन, अपाङ्गता लगायतलाई समस्या हुने गरेको छ। वीर अस्पतालअघिबाट निजी सवारी साधन सडक झैँ गरी पुरानो बसपार्कमा छिर्न दिँदा पनि यहाँ यात्रुले असुरक्षित अनुभव गर्ने गरेका छन्। 

बसपार्कमा बाहिर जाने आउने बस कुर्ने हो तर यहाँ सडक झैँ गरी निजी सवारी तछाडमछाड गरेर दौडिन्छन्। यसलाई व्यवस्थित ट्राफिक प्रहरीले पनि चासो देखाएको छैन। भ्यू टावर निर्माण कछुवा गतिमा रहेकाले पनि पुरानो बसपार्कको समस्या छिट्टै समाधान हुन नसक्ने वडा कार्यालयले जनाएको छ। 

भ्यू टावर निर्माणसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाले पनि काम हुने नहुने निश्चित छैन। यसैले गर्दा खुलामञ्चमा अस्थायी भनी सञ्चालनमा रहेको बसपार्क व्यवस्थित गरिनुपर्ने वडाध्यक्ष खड्गी बताउछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।