कोठमाडौं- ओपनर ब्याट्सम्यान रित गौतमको शतकीय पारीको मद्दतले मलेसियामा जारी इष्टर्न रिजन यु-१९ एसिया कप छनोट अन्तरगत सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य सुम्पेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाउँदै ३ सय २६ रन जोडेको हो । नेपालका लागि रितले ११५ रनको अविजित शतकीय पारी खेलेका हुन् ।
उनले १३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ११५ रनको शतकीय पारी खेलेका हुन् । उनले पहिलो विकेटका लागि अर्का ओपनर ब्याट्सम्यान पवन सर्राफसाँग ९२ रनको साझेदारी गरे । १५ औं ओभरमा ४५ रनमा खेली रहेका पवन विनित चित्तेस मेहताको बलमा क्याचआउट हुँदै पेभिलियन फर्किए ।
पवनले ४१ बलमा १० चौका प्रहार गर्दै ४५ रन जोडेका थिए । त्यसपछि पवनको स्थानमा मैदान प्रवेश गरेका खडक बहादुर बोहराले आक्रमक ब्याटिङ गर्ने नेपालले ठुलो योगफल तयार पार्न महत्वपूर्ण योगदान दिए । उनले रितसँग दोस्रो विकेटका लागि १३१ रनको साझदारी गरेका थिए ।
खडक शतक बनाउनबाट मात्र १० रनले चुके । उनले ९० बलमा १२ चौका प्रहार गर्दै ९० रन जोड्ने क्रममा सिंगापुरका बलर प्रनव सुदर्शन राजेश कृष्णनको बलमा एलबीडब्लु आउट हुँदै पेभिलियन फर्किए । यसै खेलबाट डेब्यु गरेका विशाल बिक्रम केसी एक रन जोड्दै प्रनव सुदर्शनको बलमा बोल्डआउट भए ।
कप्तान रोहिक कुमार पौडेल चौथो विकेटको रुपमा ७ रनमा आउट भए । कुशल मल्लले रनको अर्धशतकीय पारी खेले । आक्रमक ब्याटिङ गरेका कुशलले मात्र २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५१ रनको अर्धशतीय पारी खेल । उनले रितसँग ८२ रनको साझेदारी गरे ।
सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र विनित चित्तेस मेहताले समान दुई दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४