लिबिया- एउटा आक्रमणमा लिबियाको हिरासतमा रहेका ४० भन्दा बढी शरणार्थीहरु मारिएका छन्।
राजधानी त्रिपोलीको एक हिरासतमा भएको हवाई आक्रमणमा अरु ८० भन्दा बढी आप्रवासी घाइते भएको बीबीसीले जनाएको छ। सरकार विरोधी लडाकूहरुको एक समूहले उक्त हिरासतमा सरकारी बलले हवाई आक्रमण गरेको आरोप लगाएको छ।
हिरासतमा भएको आक्रमणमा मारिनेहरु लिबियाको तटीय क्षेत्रबाट युरोप प्रवेश गर्ने क्रममा पक्राउ परेका अफ्रिकन नागरिक रहेका छन्।
युरोप छिर्न खोजेका हजारौं अफ्रिकन आप्रवासीहरु लिबियाको हिरासतमा रहेका छन्।
लिबियामा सन् २०११ देखि जारी द्वन्द्वका कारण अहिलेसम्म पनि दिनदिनै हिंसाका घटनाहरु भइरहेका छन्।
टाजौरा हिरासतको एउटा छाप्रोमा करिब १२० जना शरणार्र्थी रहेको र सोही ठाउँमा मंगलबार साँझ भएको हवाई आक्रमणमा ठूलो संख्यामा मारिएको त्यहाँको आतप्कालीन सेवाका प्रवक्ता ओसामा
अलीले समाचार एजेन्सी एएफपीलाई बताएका छन्।
हिरासतमा करिब ६०० मानिसलाई राखिएको छ।
हिरासतमा भएको आक्रमणमा महिला तथा बालबालिकाहरु धेरै मारिएको आशंका गरिएको छ।
संयुक्त राष्ट्र संघले मान्यता दिएको सरकारको स्वास्थ्य मन्त्रालयका एक अधिकारी डा. खालिद बीन अट्टियाले ठूलो संख्यामा रहेका शरणार्थीमाथि वम वर्षा भएको र यसले त्यहाँको दृष्य निकै दर्दनाक देखिएको उल्लेख गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४