कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।
त्यसैगरी जेनेभामा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको एक सत्रमा पनि प्रधानमन्त्री हुन सेन सहभागी हुने कार्यक्रम रहेको अधिकारीहरुले जानकारी दिएका छन्। कम्बोडियाली प्रधानमन्त्रीको कार्यालयका एकजना मन्त्री थामरोङले दिएको जानकारीअनुसार उनले विश्व व्यापार संगठनको विशेष सत्रमा सम्बोधन गर्नेछन्।
मन्त्री थामरोङले त्यस अवसरमा कम्बोडियाको आर्थिक अवस्था, यहाँको आर्थिक विकासका लागि कम्बोडियाले गरेका प्रयास र संघर्षका बारेमा पनि चर्चा गर्ने जानकारी दिए।
परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट) ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ।
ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ। आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ। मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ।
साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ।
उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन्। यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए। अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन्। उनले घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गरेका छन्। गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए।
चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ। सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा) सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन्।
यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ। सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो। काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन्।
भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताए।
करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ। भारी वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ।
अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो। उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन्।
साल्भाडोरका सञ्चार माध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुबैको दाहसंस्कार गरिएको हो।
परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन। सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए।
नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।
यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान सबेरै आक्रमण गरेको राज्य प्रहरी प्रवक्ताले जानकारी दिए।
यस आक्रमणमा परी सर्वसाधारण मारिएका वा घाइते भएका बारेमा कुनै समाचार प्राप्त नभएको प्रहरीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब छिट्टै अमेरिकाको प्रमुख १० सहरबाट गैह्र कानुनी आप्रवासीहरुलाई बल प्रयोग गरि देश निकाला गर्ने कार्य सुरु हुने बताएका छन्। उनका अनुसार आउँदो जुलाई ४ तारिखपछि धेरै भन्दा धेरै कानुनी हैसियत नभएका आप्रवासीहरुलाई देश निकाला गरिने र त्यसका लागि सबै कानुनी बन्दोबस्त तयार रहेको प्रष्ट्याएका छन्।
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजका नेता तथा कार्यकर्ताहरुमाथि इमरान सरकारले राजनीतिक दुस्मनी साँध्न धरपकड गर्दै झुठा मुद्दा लगाएको भन्दै पार्टी नेता नवाज शरिफले पार्टीको भण्डाफोर गरेका छन्।
भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेको आरोपमा वर्तमान पाकिस्तानी सरकारले व्यापक रुपमा अनुसन्धान गर्दै कानुनी कारवाही अघि बढाएको छ।
भारतको केन्द्र सरकारले उत्तर प्रदेश सरकारको केही कदम संविधान विरोधी बताएको छ। योगी सरकारले १७ समुदायलाई 'ओबीसी' अन्तर्गत अनुसुचिकृत जातीमा सुचिकृत गरेपछि विरोधीहरुको आवाज चर्को भएको छ।
विपक्षीका अनुसार प्रदेशमा भएको सामुदायिक अवस्थालाई मध्येनजर गर्दै आवश्यक सुधारका निमित्त केन्द्र सरकारलाई सिफरिस सम्म गर्नसक्ने हैसियत प्रदेश सरकारको रहेको तर संविधानले दिएको आधारभन्दा वाहिर गएर निर्णय गर्ने प्रदेश सरकारको कुनै हैसियत नरहेको प्रष्ट्याएका छन्।
