रियाद - साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ। उक्त आक्रमणबाट नौं जना सर्वसाधारण घाइते भएका छन्।
यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए। अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन्। घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गरेका छन्। गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए।
प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको बताए।
नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोही विरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने पनि मलिकीले बताए।
पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४