एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्टइन्डिज श्रीलंकासंग २३ रनले पराजित भएको छ । सोमबार भएको खेलमा श्रीलंकाले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन मात्र बनाउन सक्यो ।
वेस्टइन्डिजका लागि निकोलस पुरनले १ सय १८ रनको शतकीय पारी खेलेपनि टोलीको जितका लागि प्रयाप्त भएन । उनले १०३ बलमा ११ चौका र ४ छक्क प्रहार गर्दै ११८ रनको शतकिय पारी खेले ।
त्यस्तै फाबियन अलेनले ५१ रनको अर्धशतकीय पारी खेले । उनले मात्र ३२ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५१ रनको अर्धशतकिय पारी खेलेका हुन् । क्रिस गेलले ४८ बलमा एक चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोड्दा सिम्रन हिटमायरले २९, कप्तान जासन होल्डरले २६ रन बनाउन बहेक अन्य ब्याट्सम्यानले दोहिरो अंकमा रन छुन सकेनन् । श्रीलंकाका लागि लासिथ मालिंगाले ३ विकेट लिए । त्यस्तै कसुन रजिथा, जफ्रे वन्दर्से र एन्थलो म्याथ्युजले एक एक विकेट लिए।
यस अघि रिवरसाईड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो।
श्रीलंकाको लागि आविष्का फर्नान्डोले शतकीय पारी खेले । १०३ बल खेलेका उनले ९ चौका र २ छक्काको सहयोगमा १०४ रन बनाए । आविष्काको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो ।
त्यस्तै कुसल परेराले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौकाको सहयोगमा ६४ रन बनाए । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ४५ रन जोड्दा कुशल मेन्डिस ३९, कप्तान दिमुथ करुणारत्ने ३२ र एन्जेलो म्याथ्युजले २० रनको योगदान गरे ।
बलिङतफै वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले दुई विकेट लिए । त्यस्तै शेल्डन कोट्रेल, ओशाने थोमस र फबियन एलेनले समान एक–एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४