आज असार १२ गते बिहीबार विश्वभर के के घटनाहरु भए ? महत्वपूर्ण घटनाहरु यहाँ हेर्नुहोस्।
१. चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका पुगेका छन्। विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिएका छन्।

२. म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा अरु ७५ जना घाइते भएका छन्। म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो।

३. संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबु छोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ। अमेरिका प्रवेश गर्न चाहने एल साल्भाडोरका आप्रवासी बाबु छोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो।

४. भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ। स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ।
भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ। सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ।

५. मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ।
टिएरा ब्लान्का नगरपालिकामा ट्रयाक्टरमा चढेर गइरहेका आप्रवासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा ८६ जना वयस्क व्यक्ति र अरु बालबालिका रहेका छन्।
पक्राउ परेकाहरुमा मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवाका रहेका छन्। प्रहरीले ट्रयाक्टरका चालकलाई मानव तस्करीको आशंकामा गिरफ्तार गरेको छ।
यस्तै अर्को कारबाहीमा टान्तोयुका नगरमा पनि १५ जना मध्य अमेरिकी नागरिक बसमा यात्रारत रहेको अवस्थामा पक्राउ परेका छन्। त्यसमा नौ जना बालबालिका रहेका थिए।

६. नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।
गोली लागी घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन्।

७. तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन्।
उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन्।
मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि लडाकू भर्ना गर्ने विभागका प्रमुख रहेका बताइएको छ। उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ।
क्वारी बिलाल नामबाट पनि चिनिने उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर त्यहाँ रहेको प्रहरी कार्यालयमा हात हतियार पनि बुझाएका उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिएका हुन्।

८. रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ।
साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्। एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो।
उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो। आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो।

९.ट्युनिसियाको राजधानीमा दुईवटा आत्मघाती आतंकवादी हमला भएको छ । बिहीबार भएको उक्त घटनामा उल्लेखनीय क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ ।
साथै उक्त घटनामा एकजना प्रहरी अधिकृत मारिएको छ ट्युनिसियको समाचार संस्थाले जनाएको छ ।

१०. एयर इण्डियाको उडानले संकटकालीन अवतरण गरेको छ । लण्डनस्थित स्ट्यानस्टेट विमानस्थलमा तत्काल सुरक्षा जाँच गर्नुपर्ने भएको हुँदा एयर इण्डियाको उडान एआई १९१ मुम्बईबाट अमेरिकाको नेवार्कतर्फ जाँदै गरेको उक्त विमानमा बम भएको हल्ला चलेपछि सुरक्षार्थ आपत्कालीन अवतरण गर्नुपरेको शाही हवाई बलले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४