काठमाडौं- अमेरिका र इरानबीचको तनावमा साइबर आक्रमण सुरु भएको छ।
आर्थिक विवादबाट सुरु भएको अमेरिका र इरानबीचको तनावमा विहीबार इरानी सेनाले अमेरिकी ड्रोन खसालेको थियो।
जसप्रति क्रुद्ध हुँदै अमेरिकाले इरानमाथि आक्रमण गर्ने निर्णय गरेको थियो। तर, लगतै अमेरिकाले आक्रमणको रणनीति फेर्यो।
र, अहिले अमेरिकाले इरानमा साइबर आक्रमण गर्दैछ।
इरानको सुरक्षा व्यवस्था तथा हतियारसँग जोडिएको साइबर प्रणालीमाथि अमेरिकाले आक्रमण गरेको छ।
तर, अमेरिकी पक्षले रोचक कुरा बाहिर ल्याएको छ।
अमेरिकाविरुद्ध इरानले साइबर गतिविधि गरेकाले प्रतिवाद गरिएको अमेरिकी पक्षको दाबी छ।
बहराइन र यूनाइटेड अरब इमिरेटलगायतका देशविरुद्ध इरानले साइबर गतिविधि गरिरहेको अमेरिकी पक्षको दाबी छ।
यूएस साइबर कमाण्डले इरानमाथि साइबर आक्रमण भइरहेको पुष्टि गर्दै प्रतिरक्षा गरिएको दाबी गरेका छन्।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले शनिबार भनेको छ,‘इरानले भर्खरै अमेरिकाको उद्योग र सरकारी संयन्त्रविरुद्ध साइबर आक्रमण बढाएको छ।
डिपार्टमेन्टका डाइरेक्टर क्रिस्टोफर क्रेबसले अमेरिका विरुद्ध इरानबाट साइबर आक्रमण भइरहेको बताएका छन्।
सीएनएनलाई उनले भनेका छन्, ‘हामी इन्टेलिजेन्स र साइबर पार्टनरहरुसँग मिलेर निरन्तर इरानको साइबर गतिविधिमाथि निगरानी गर्दैछौं। अमेरिकालाई सुरक्षित राख्न हामीले कदम उठाउँदैछौं।’
यसैबीच इरानी सेनाले अमेरिकासँग युद्ध गर्ने पक्षमा नरहेको बताएको छ। तर, आफूहरु प्रतिरक्षाका लागि भने तयार रहेको उसले जनाएको छ।
इरानी सेनाका अधिकारी अमिर अली हजिजादेहले अमेरिकी ड्रोन अन्तर्राष्ट्रिय सिमाको मापदण्ड विपरित उडेकोले खसालिएको दाबी गरे।
यता मलेशियाका प्रधानमन्त्री माहाथिर मोहम्दले अमेरिकाले इरानलाई उक्साएर विश्व युद्धतर्फ लग्न खोजेको प्रतिक्रिया दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४