एजेन्सी- श्रीलंकाका अनुभवी तिब्र गतिका बलर लसिथ मलिंगाले आफ्नो अन्तिम एकदिवसीय विश्वकपलाई यादगार बनाउन जुटेका छन् । ३५ बर्षीय दायाँ हाते अनुभवी बलर मलिंगाले इंग्ल्यान्डविरुद्धको खेलमा नयाँ रेकर्ड समेत बनाएका छन्।
इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा मलिंगाले आयोजक टोलिविरुद्ध १० ओभर गर्दै ४३ रन खर्चेर ४ विकेट लिएका थिए । यससँगै मलिंगाले विश्वकपमा विकेटको अर्धशतक पुरा गरेका छन् ।
मलिंगाले आइसिसीको विश्वकप क्रिकेटमा बसै भन्दा छिटो ५० विकेटको आँकडा पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले मात्र २६ खेलमा ५१ विकेट लिएका छन् । उनले अष्ट्रेलियाका पूर्व खेलाडी म्याक्ग्रा र श्रीलंकाका स्पिनर बलर मुथैया मुरलीधरनलाई पछि पार्दै यो रेकर्ड आफ्नो नाममा राखेका छन् ।
म्याक्ग्रा र मुथैयाले यस आँकडालाई पुरा गर्न ३०-३० खेलको साहरा लिएका थिए । जबकी यस आँकडालाई पुरा गर्न अकरमले ३४ खेल खेलेका थिए । मलिंगा एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिनेको १० औं स्थानमा छन्।
उनले २२२ एकदिवसीय क्रिकेटमा ३३० विकेट लिएका छन् । यस आँकडमा मुरलीधरन ५३४ विकेट लिँदै पहिलो स्थानमा छन् । त्यस्तै ५०२ विकेट सहित अकरम दोस्रो, ४१६ सहित वकार युनिस तेस्रो, ४०० विकेट सहित वास चौथो र ३९५ विकेट सहित शाहिद अफ्रीदी पाँचौ स्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४