एजेन्सी- लासिथ मलिंगा चम्किएपछि एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४७ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय १२ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दलाउन भने सकेनन् ।
उनले ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ८२ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै जोय रुटले ८९ बलमा ३ चौका सहित ५७ रनको अर्धशतकीय पारी खेले ।
कप्तान इयान मोर्गन २१, मोइन अलीले १६ र जेम्स भिन्सले १४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मलिंगाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ र नुवान प्रदीपले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो । खराव सुरुवात गरेको श्रीलंकाका लागि एन्जेलो क्याथ्युजले अर्धशतकीय पारी खेलेका थिए ।
उनले ११५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ८५ रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै अविस्का फर्नान्डो अर्धशतक बनाउनबाट १ रनले चुके भने कुसल मेन्डिज ४ रनले चुकेका थिए ।
फर्नान्डोले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडेका थिए । कुसलले ६८ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन जोडेका थिए । धनन्जय सिल्भाले ४७ बलमा १ चौका सहित २ढ रन जोडे । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले तीन तीन विकेट लिए । त्यस्तै अडिल राशिदले दुई तथा क्रिस वोक्सले एक विकेट लिए ।
यस हारसँगै इंग्ल्यान्डले ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । विजयी श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४