दिन र रातबीच भिन्नता नहुँदा हामीलाई कस्तो लाग्ला ? केही समय त रमाइलो नै लाग्छ, तर दैनिक रूपमा यस्तो हुँदा कष्ट हुन सक्छ। निरन्तर दिनमात्रै रहनु भनेको समयचक्रलाई नै चुनौती हो। यस्तै समयचक्रलाई चुनौती दिने टापु नर्वेमा रहेको छ।
नर्वेको सोमारोय टापुमा १८ मे देखि २६ जुलाईसम्म ६९ दिन सूर्य अस्ताउँदैन। यसका साथै जाडोमा करिब ३ महिना सूर्य देख्नै पाइँदैन। यस कारण सोमारोय टापुले संसारकै पहिलो ‘टाइम फ्री जोन’ को अभियान सुरु गरेको छ। सोमारोयका तीन सय बासिन्दाले टापुलाई समय सीमाबाट स्वतन्त्र भएको अभियान चलाएका छन्।
अभियानको नेतृत्वकर्ता केजेल ओव हेविङका अनुसार यस अभियानबाट स्थानीयले पारम्पारिक काम गर्ने प्रणालीमा परिवर्तन हुनेछ। मानिस जति बेला सहज ठान्छन् सोहीअनुसार काम गर्न सक्छन्। टापुमा आउने यस परिवर्तनसँगै काममा लचिलोपन पनि आउनेछ। टापुमा माछापालनका साथै पर्यटक आकर्षित गर्ने विश्वास छ।
चौबीसै घन्टा घाम लाग्ने भएकाले दिनरातको अर्थ नै नहुने स्थानीयको भनाइ छ। स्थानीय समय जञ्जालमा नफसून् भनेर नै यो क्षेत्रलाई टाइम जोन फ्रि गर्न लागिएको डेली मेलमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४