एजेन्सी- बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई पराजित गर्दै न्युजल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बर्षाले प्रभावित भएपछि ४९ ओभरमा झारीएको खेलमा दक्षिण अफ्रीकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको न्युजल्यान्डले ४८.३ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो ।
न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले शतकीय पारी खेले । उनले १३८ बलमा ९ चौका र १ छक्कासहित १०३ रनको अविजित शतकीय पारी खेलेका हुन् । त्यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६० रनको र्अशतकीय पारी खेलेका हुन् । मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ तथा कागिसो रावाडा, लुङगी र एन्डेलले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ६ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको थियो । खराब सुरुवात गरेको दक्षिण अफ्रीकाका लागि रसिए भान डेर डुसेन र हशिम अमलाले अर्धशतकीय पारी खेले । डुसेनले ६४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै अमलाले ८३ बलमा ४ चौकाको मद्दतमा ५५ रनको अर्धशतकीय पारी खेलेका हुन् । एइडेन मारक्रमले ३८ रनको योगदान दिए । उनले ५५ बलमा ४ चौका प्रहार गर्दै ३८ रन जोडे । डेभिड मिलरले ३७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडे । फाफ डुप्लेसीले ३५ बलमा ४ चौका सहित २३ रनको योगदान दिए ।
पहिलो विकेटको रुपमा क्वुन्टन डिककलाई ९ रन पुग्दा गुमाएको दक्षिण अफ्रीकाले दोस्रो विकेटको रुपमा टोलीको ५९ रन पुग्दा डुप्लेसीलाई गुमाएको थियो । धरमराएको सुरुवाती ब्याट्सम्यानलाई केही हदसम्म सम्हाल्ने प्रयास गरेका अमला टोलीको १११ रन पुग्दा २८ औं ओभरमा पेभिलियन फर्किए ।
चौथो विकेटको रुपमा मारक्रमलाई गुमाएको दक्षिण अफ्रीकाले पाँचौ विकेटको रुपमा ४५ औं ओभरमा टोलीको २०५ रन पुग्दा मिलरलदाई गुमाएको थियो । न्युजल्यान्डका लागि फेर्गुसुनले तीन तथा ट्रेन्ट बोल्ट, कोलिन ग्रान्डोमी र मिचेल सान्टनरले एक एक विकमेट लिए ।
यसजितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित न्युजल्यान्डको चौंथो जित हो । दक्षिण अफ्रिकाको यो चौथो हार हो । ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४