काठमाडौं - भारतको पश्चिम बंगालको मुर्शिदाबादमा तृणमूल कांग्रेस (टीएमसी) र कांग्रेस कार्यकर्ताबीच शनिबार भएको झडपमा तीन टीएमसीका कार्यकर्ताको मृत्यु भएको छ।
झडपमा परि मृत्यु हुनेमा टीएमसीका कार्यकर्ता खैरुद्दीन शेख, सोहेल राणा र अर्का एक कार्यकर्ता रहेका छन्।
घटना अघि गत लोकसभा चुनावताका ढोमकोल पंचायत समितिका अल्ताफ हुसैनको समेत हत्या गरिएको थियो। यस घटनाका मुख्य आरोपी केही दिनपछि नै रिहा भएका थिए।
सोहेल राणा अल्ताफ हुसैनका छोरो भएको र खैरुद्दीन शेख उनका दाई भएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएका छ। यता टीएमसीले कार्यकर्ता हत्यामा कांग्रेसको हात रहेको बताएको छ।
लोकसभा चुनावपछि अहिलेसम्म उक्त क्षेत्रमा भएका राजनीतिक हिंसामा परि १० कार्यकर्ताको हत्या भइसकेको छ। यस क्षेत्रमा अहिलेसम्म बीजेपी र तृणमूल कार्यकर्ताबीच हिंसात्मक झडप हुँदै आएपनि अब भने कांग्रेस र तृणमूलका कार्यकर्ताबीच पनि हिंसात्मक झडप हुन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४