काठमाडौं– पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा तत्काल भौतिक रूपमा सञ्चालन गर्न सुझाव दिएका छन्। परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध गरेर स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ छ।
संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य रहेका पोखरेलले परीक्षा स्थगित भएर विद्यार्थी अन्योलमा रहेकाले १८ वर्ष उमेर पुगेका ३ लाख ७३ हजार २ सय ८० परीक्षार्थीलाई यथाशीघ्र कोरोना खोप दिन सुझाव दिएका हुन्। उनले १८ वर्षमुनिका ८ सय ४५ परीक्षार्थीलाई पनि विशेष व्यवस्था गरी परीक्षा दिने वातावरण बनाउनुपर्ने बताए।
उनले भने, ‘विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिनुपर्ने, कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्नका लागि भदौभित्र परीक्षा तालिका प्रकाशित गरी होम सेन्टरको प्रबन्ध मिलाउनुपर्छ।’ सरकारले परीक्षाको विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ। पूर्वमन्त्री पोखरेलले इनियरिङ कलेजको शुल्कको विषयमा कलेजले एउटा सेमेस्टरमा २० देखि २५ प्रतिशतसम्म छुट दिँदा समस्या समाधान हुने सुझाव दिएका छन्।
‘विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिनुपर्ने, कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्नका लागि भदौभित्र परीक्षा तालिका प्रकाशित गरी होम सेन्टरको प्रबन्ध मिलाउनुपर्छ।
उनले कोभिडको महामारी अन्त्यपछि इन्जिनिरिङ कलेजको वैज्ञानिक शुल्क निर्धारण गरिनुपर्ने बताए। अहिले निजी कलेजले २०६६ सालमा अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयको समन्ववयमा तोकिएको ४ लाख ८६ हजार शुल्कमा प्रत्येक वर्ष १० प्रतिशत शुल्क वृद्धि गरी करिब १२ लाख ५० हजार रुपैयाँ पुर्याएका छन्।
कोभिडका कारण विगत २ वर्षदेखि बन्द शैक्षिक संस्थाको बिजुली, पानी, इन्टरनेट र भौतिक वस्तुको प्रयोग नभएकाले विद्यार्थीले ३५ प्रतिशत छुटको माग राखी आन्दोलन गरिरहेका छन्। पोखरेलले भने २५ प्रतिशत सम्म छुट दिएर भए पनि सहमति गर्न सुझाव दिएका छन्। यसअघि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको थियो।