काठमाडौं- इञ्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकुदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकुद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन्। परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन्।
कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन्। स्नातक तहको सबै वर्षको परीक्षा अर्को महिनाको पहिलो साता गर्ने तयारी रहेको छ।
अनलाइन कक्षामा खेलकुद शुल्क असुल्न खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियू)का सचिवालय सदस्य इन्द्र पौडेलले बताए। उनका अनुसार कलेजमा कोभिडका कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क भने असुलिरहेका छन्।
विद्यार्थीसँग बढी शुल्क लिए पनि अनलाइन कक्षा हुँदा कुनै पनि प्रयोगात्मक भएको छैन। इञ्जिनीयरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले सिक्न नसक्ने पौडेलको भनाइ छ। 'अहिले इञ्जिनियरिङका विद्यार्थी अरु सङ्कायमा पढे जस्तो भएको छ,' उनले भने।
शुल्क विवाद चाँडो समाधान नभए स्नातक तहका सबै वर्षको परीक्षालाई असर गर्ने नेपाल विद्यार्थी सङ्घका नेता भुवन भट्टले बताए। कुनै पनि प्रयोगात्मक नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले प्रयोगात्मक क्रियालापहरुको शुल्क लिइरहेका छन्। कलेजले आधा शुल्क घटाउनुपर्ने उनको माग छ। 'अनलाइन कक्षा हुँदा कलेजको पनि लगानी कम भएकाले विद्यार्थीसँग पनि कम शुल्क लिनुपर्छ,' उनले भने।
शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन्। कुनै कलेजमा सबै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा त कतै फरक फरक सङ्गठनले फरक कार्यक्रम गरिरहेका छन्। विद्यार्थीले आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका हुन्।
विद्यार्थीले केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इञ्जिनीयरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेको छन्। संस्थानले समन्वयमा चासो नदिएको विद्यार्थीको आरोप छ भने संस्थानले कलेजसँग वार्ता भइरहेकाले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ। संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ।
संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डिन शशिधरराम जोशीले बताए। कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। 'केही विद्यार्थीको आन्दोलनका कारण १९ हजारलाई असर पुग्न दिनुहुँदैन,' उनले भने।
त्रिभुवन विश्वविद्यालयका पाँच आङ्गिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो। विसं २०५० मा विश्वद्यिालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरुले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो। सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिँदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डिन जोशीले बताए।