काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेध आदेश फेरि थप हुने भएको छ। निषेध आदेश थप गर्ने विषयमा आज सीसीएमसी र सीडीओको बैठक बस्ने भएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले निषेध आदेशलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सरोकारवालाहरूसँगको छलफलपछि निषेधाज्ञा मोडालिटी तय हुने बताए
आज बस्ने सीसीएमसीको बैठकले पछिल्लो साताको संक्रमणदर र मृत्युदरको समीक्षा गरेर आगामी रणनीति तय गर्ने उनले बताए। आज ११ बजेपछि सीसीएमसी बैठक बस्नलागेको हो।
पछिल्लो साता थप गरिएको निषेध आदेशमा उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै सवारी-साधन सञ्चालनमा रोक लगाइएको थियो।
पछिल्लो साता थप गरिएको निषेध आदेश आज राति १२ बजे सकिँदैछ। सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेध आदेश कायमै छ।